आईजीपी फेरबदलले रास्वपाको संसदीय दलको बैठक अन्योलमा

  • कालिका खवर
  • बिहिबार, कार्तिक १९, २०८३
  • काठमाडौँ : नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदलको निर्णयलाई लिएर सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच मतभेद देखिएकाे छ । जसकाे कारण पार्टीको संसदीय दलको बैठक नै अनिश्चित बनेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । तर, पार्टीलाई पूर्वजानकारी नदिई आईजीपी परिवर्तन गरेपछि रास्वपाभित्र असन्तुष्टि बढाएको छ ।

    आईजीपी नियुक्तिको विषयमा सरकारका प्रवक्ता सस्मित पोखरेल र रास्वपाका प्रवक्ता जगदीश खरेलले सार्वजनिक रूपमा फरक धारणा राखेपछि पार्टीभित्र थप अन्योल सिर्जना भएको हो । पोखरेलले पार्टीकै निर्देशनअनुसार प्रहरी नेतृत्व परिवर्तन गरिएको दाबी गरेका थिए भने खरेलले पार्टीले कुनै व्यक्तिलाई नियुक्त वा हटाउन निर्देशन नदिएको स्पष्ट पारेका थिए ।

    सर्वोच्च अदालतका न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेका बेला आईजीपी फेरबदलको घटनाले संसदीय दलको बैठक बोलाउने तयारीसमेत प्रभावित भएको रास्वपाका एक नेताले बताए ।

    प्रधानमन्त्री एवं संसदीय दलका नेता बालेन्द्र शाह, दलका उपनेता गणेश पराजुली र मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीबीच शनिबारसम्म बैठक बोलाउने विषयमा अनौपचारिक छलफल भए पनि मिति भने तय हुन सकेको छैन ।

    सरकारका पछिल्ला निर्णयप्रति आलोचना बढिरहेका बेला रास्वपाले गत शनिबार सचिवालयको आकस्मिक बैठकसमेत बोलाएको थियो । तर, पार्टीको निर्णय र सरकारका प्रवक्ताको अभिव्यक्तिबीच तालमेल नदेखिएपछि पार्टीभित्र असन्तुष्टि थपिएको राजनीतिक वृत्तमा चर्चा छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar