बिचौलिया इनम सापकोटा र न्यायाधीश फुयालबीच कनेक्सनको खुलाशा

  • कालिका खवर
  • बिहिबार, कार्तिक १२, २०८३
  • काठमाडौं । अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालबीच कनेक्शन गरेको प्रमाण सार्वजनिक भएको छ ।

    सार्वजनिक भएको ह्वाट्सएप च्याटमा उनीहरूबीच व्यवसायी रोहित गुप्ताको धरौटीसम्बन्धी आदेशबारे कुराकानी भएको पाइएको हो । फुयालले गुप्ताको धरौटी आदेशको लिंकसमेत सापकोटालाई पठाएका छन् । बिचौलिया सापकोटाको ‘मिस्डकल’को जवाफ दिँदै न्यायाधीश फुयालले लेखेका छन्– मैले यो ढिलो देखेँ । उनलाई (रोहित गुप्ता) छाड्नुपर्ने आधारै रहेछ । हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ । गोल्छालाई (शेखर गोल्छा) एक करोड मागिएको रहेछ ।

    गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्चको वेबसाइटको लिंक पनि उनले सापकोटालाई म्यासेज गरेका छन् ।

    गुप्तालाई धरौटीमा छाड्ने आदेश भदौ १७ गते न्यायाधीश फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले दिएको थियो । सोही दिन उनीहरूबीच संवाद भएको स्रोतको दाबी छ ।

    संवादमा फुयालले सापकोटालाई साँझ ७ बजे हिमालय होटलमा भेट्न प्रस्ताव गरेको विवरणसमेत सार्वजनिक भएको छ । तर, भेटको उद्देश्य र त्यसको विचाराधीन मुद्दासँगको सम्बन्ध स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ ।

    भट्ट समूहसँग सम्बन्धित मुद्दामा चलखेल गरेको आरोपमा सापकोटा असोज १४ गते पक्राउ परेका थिए । प्रहरीले उनको मोबाइलमा रहेका संवाद र सम्पर्क विवरणमाथि अनुसन्धान गरिरहेको बताइएको छ ।

    विचाराधीन मुद्दासँग सम्बन्धित संवाद र भेटघाटको प्रस्तावले न्यायाधीशहरूको आचारसंहिता तथा न्यायिक निष्पक्षताबारे प्रश्न उठाएको छ । यद्यपि, सार्वजनिक विवरणमा उल्लेख भएका आरोपको आधिकारिक पुष्टि र घटनाको वास्तविक सन्दर्भ अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar