५ लाख ४९ हजार डाउन पेमेन्टमै नेक्सन ईभी, सिप्रदीले ल्यायो नयाँ वित्तीय योजना

  • कालिका खवर
  • बिहिबार, अशोज २२, २०८३
  • काठमाडौं । विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै नेपाली बजारमा नयाँ वित्तीय योजना सार्वजनिक गरिएको छ। नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले लोकप्रिय विद्युतीय एसयूभी टाटा नेक्सन ईभी न्यून सुरुवाती भुक्तानीमा खरिद गर्न सकिने योजना ल्याएको हो।

    सिप्रदीको नयाँ योजनाअनुसार ग्राहकले नेक्सन ईभी खरिदका लागि ५ लाख ४९ हजार रुपैयाँको डाउन पेमेन्टबाट प्रक्रिया अघि बढाउन सक्नेछन्। कम्पनीले यस योजनाअन्तर्गत ८० प्रतिशतसम्म बैंक कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।

    नेपाल राष्ट्र बैंकको प्रचलित नीतिअनुसार निजी सवारीसाधन खरिदमा निश्चित सीमासम्म कर्जा उपलब्ध हुने व्यवस्था रहेकाले सामान्य अवस्थामा ग्राहकले खरिद मूल्यको ठूलो हिस्सा सुरुमै व्यवस्थापन गर्नुपर्ने अवस्था रहन्छ। करिब ४४ लाख रुपैयाँ आसपास पर्ने नेक्सन ईभी खरिद गर्दा त्यसले ग्राहकको प्रारम्भिक आर्थिक भार बढाउने गरेको थियो।

    यही अवस्थालाई ध्यानमा राख्दै सिप्रदीले ग्राहकको सहजतालाई केन्द्रमा राखेर नयाँ वित्तीय विकल्प अघि सारेको जनाएको छ। यसबाट ठूलो रकम एकमुष्ट जुटाउन कठिन हुने ग्राहकलाई विद्युतीय सवारीसाधन खरिदमा सहजता हुने अपेक्षा गरिएको छ।

    आकर्षक डिजाइन र आधुनिक प्रविधि

    नेक्सन ईभी डिजाइनका हिसाबले पनि आकर्षक मानिन्छ। यसमा स्प्लिट एलईडी हेडलाइट सेटअप, एलईडी लाइट, नयाँ फ्रन्ट बम्पर तथा एरोडाइनामिक डिजाइनका १६ इन्च अलोय ह्वील दिइएको छ। पछाडिको भागमा सिक्वेन्शियल एलईडी टेललाइट राखिएको छ।

    गाडीको लम्बाइ ३,९९३ मिलिमिटर, चौडाइ १,८११ मिलिमिटर र उचाइ १,६०६ मिलिमिटर रहेको छ। यसको ह्वीलबेस २,४९८ मिलिमिटर तथा ग्राउण्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ। सामान राख्नका लागि ३५० लिटरको बुट स्पेस उपलब्ध छ।

    प्रविधिमैत्री क्याबिन

    नेक्सन ईभीको क्याबिनमा आधुनिक फिचरहरू समावेश गरिएको छ। यसमा इल्युमिनेटेड लोगो भएको टू-स्पोक स्टेयरिङ ह्वील, १२.३ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छन्।

    त्यसैगरी, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर, ९ स्पिकरसहितको जेबीएल साउण्ड सिस्टम तथा भ्वाइस अलर्ट सिस्टमलगायतका सुविधा दिइएको छ।

    ३२५ किलोमिटरसम्मको रेन्ज

    नेक्सन ईभीमा ४५ किलोवाट आवरको प्रिज्म्याटिक ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ।

    गाडीमा ९८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। चार्जिङका लागि ७.२ किलोवाटको एसी चार्जर तथा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। यसमा चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसमेत रहेको छ।

    सुरक्षामा पनि प्राथमिकता

    सुरक्षाका लागि नेक्सन ईभीमा ६ वटा एयरब्याग, सबै पांग्रामा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक तथा ब्लाइन्ड स्पट मनिटरिङ जस्ता फिचरहरू उपलब्ध छन्।

    यससँगै, गाडीले भारतको Bharat NCAP सुरक्षा परीक्षणमा पाँच-तारे रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

    नयाँ वित्तीय योजनासँगै नेक्सन ईभी विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका तर ठूलो प्रारम्भिक रकम व्यवस्थापन गर्न कठिनाइ हुने ग्राहकका लागि लक्षित विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar