दमकमा कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र जीवन उपयोगी सीपसम्बन्धी प्रशिक्षण

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौँ। कामना सेवा विकास बैंकले झापाको दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीलाई वित्तीय साक्षरता, जीवन उपयोगी सीप, लक्ष्य निर्धारण तथा भविष्यको मार्गदर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ।

    विद्यालयको सर्वोदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममार्फत कक्षा ९ र १० का करिब १५० विद्यार्थीलाई उक्त विषयमा जानकारी तथा मार्गदर्शन प्रदान गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथि तथा कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीलाई जीवन उपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौतीको सामना गर्ने तरिकाबारे प्रस्तुतीकरण गरेका थिए।

    भुसालले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीपको विकास भविष्य निर्माणको महत्वपूर्ण आधार रहेको बताए।

    त्यसैगरी, बैंकका ब्रान्डिङ/सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको दिशा तथा उचित मार्गदर्शनका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए। उनले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य तय गर्न, त्यसलाई चरणबद्ध योजनामा रूपान्तरण गर्न तथा निरन्तर सिकाइ र आत्ममूल्याङ्कनमार्फत लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरे।

    कार्यक्रममा वित्तीय साक्षरताका विषयमा समेत विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको थियो। बचत तथा लगानीसम्बन्धी आधारभूत ज्ञान, आवश्यकता र चाहनाबीचको भिन्नता, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारबारे व्यवहारिक उदाहरणसहित छलफल गरिएको बैंकले जनाएको छ।

    विद्यार्थी अवस्थादेखि नै आर्थिक निर्णयप्रति सचेत बन्ने बानीले भविष्यमा जिम्मेवार आर्थिक व्यवहार विकास गर्न सहयोग पुग्ने विषयमा कार्यक्रममा जोड दिइएको थियो।

    यसैगरी, विद्यार्थीको व्यक्तिगत तथा व्यावसायिक विकासमा मार्गदर्शक र विद्यार्थीबीचको सम्बन्ध तथा सही मार्गदर्शनको महत्वबारे पनि चर्चा गरिएको थियो। अनुभवी तथा विश्वासिलो व्यक्तिबाट समयमै मार्गदर्शन लिने, प्रश्न गर्ने, सुझाव ग्रहण गर्ने र सिकाइलाई व्यवहारमा उतार्ने अभ्यासले सही निर्णय लिन तथा लक्ष्यतर्फ अघि बढ्न सहयोग पुग्ने विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो।

    कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करिअरसँग सम्बन्धित सोच वक्ताहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेका थिए।

    यस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै वित्तीय सचेतना, व्यवहारिक जीवन सीप तथा भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।

    कामना सेवा विकास बैंकले वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रममार्फत विद्यार्थी, युवा तथा समुदायमा वित्तीय चेतना, जिम्मेवार आर्थिक व्यवहार र जीवन उपयोगी सीपको विकासलाई प्रवर्द्धन गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar