प्रवासी नेपालीलाई लक्षित गर्दै प्रभु बैंकको ‘प्रवासी समृद्धि घर कर्जा’ योजना सार्वजनिक

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ। योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ।

    योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने र कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ। बैंकका अनुसार कर्जाको सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। यो सुविधा देशभरका ३०० शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ।

    यस योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै जग्गा खरिदका लागि समेत कर्जा सुविधा लिन सकिनेछ। प्रवासी नेपालीले आफ्नो तथा परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण वा खरिद गर्न आवश्यक वित्तीय स्रोत सहज रूपमा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।

    योजनामा ग्राहकका बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न शैक्षिक कर्जाको सुविधा समेत राखिएको छ। यस्तो शैक्षिक कर्जामा औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदर कायम गरिएको छ भने कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ।

    त्यसैगरी, योजनाअन्तर्गत पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।

    नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान रहँदै आएको भन्दै प्रभु बैंकले विदेशमा रहेका नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत थप प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ। बैंकका अनुसार विप्रेषणलाई औपचारिक माध्यमबाट परिचालन गर्दा निक्षेप विस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहमा समेत सहयोग पुग्नेछ।

    प्रभु बैंकले आफ्नो स्थापनाकालदेखि नै विप्रेषण कारोबारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। नयाँ योजनाले प्रवासी नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्दै उनीहरूको आवास तथा वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने बैंकको अपेक्षा छ।

    बैंकले ग्राहकको बदलिँदो वित्तीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै सहज, भरपर्दो तथा ग्राहक केन्द्रित बैंकिङ सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar