महालक्ष्मी विकास बैंक नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागी

  • कालिका खवर
  • बिहिबार, अशोज १, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले भृकुटीमण्डपमा जारी नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ।

    नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जाबारे जानकारी तथा परामर्श प्रदान गरिरहेको छ।

    प्रदर्शनीमा बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै कर्जा प्रक्रिया तथा बैंकबाट उपलब्ध विभिन्न वित्तीय सेवाबारे जानकारी दिनेछन्। घरजग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिन चाहने ग्राहकलाई आवश्यक सहजीकरण र समन्वयसमेत गरिने बैंकले जनाएको छ।

    आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागी भएको बैंकले जनाएको छ। बैंकका अनुसार ग्राहकको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

    घर तथा जग्गा खरिद र घर निर्माण कर्जामा प्रतिस्पर्धी ब्याजदर उपलब्ध गराउँदै आएको बैंकले प्रदर्शनीको अवसरमा कर्जा लिने ग्राहकलाई प्रशासनिक शुल्कमा विशेष छुट दिने व्यवस्था गरेको जनाएको छ। बैंकका अनुसार भदौ महिनाका लागि आधार दर ५.६४ प्रतिशत कायम रहेको छ।

    महालक्ष्मी विकास बैंकमार्फत कर्जा लिन इच्छुक ग्राहकले प्रदर्शनीस्थलमा रहेको स्टल नम्बर ८८१ मा सम्पर्क गर्न सक्नेछन्। बैंकका प्रतिनिधिले ग्राहकको आवश्यकता बुझेर कर्जा तथा अन्य बैंकिङ सेवासम्बन्धी आवश्यक जानकारी र परामर्श दिने व्यवस्था गरिएको छ।

    गुणस्तरीय वित्तीय सेवा विस्तारमा जोड दिँदै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar