सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भयो Miss Universe Nepal 2026 को MUN Runway

  • कालिका खवर
  • बुधबार, भदौ २४, २०८३
  • काठमाडौं । Deepal Present Miss Universe अन्तर्गत Global Glamour Ventures द्वारा आयोजित Miss Universe Nepal 2026 को MUN Runway काठमाडौंस्थित सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रममा Miss Universe Nepal 2026 का १४ जना प्रतियोगीहरूले नेपाली कला, संस्कृति, मौलिकता र फेसनको प्रतिनिधित्व गर्दै आकर्षक पहिरनमा र्‍याम्प वाक प्रस्तुत गरेका थिए। चार फरक रनमार्फत प्रस्तुत गरिएको रनवे शोमा नेपाली फेसन, डिजाइन र सिर्जनशीलताको आकर्षक संयोजन देखिएको थियो।

    कार्यक्रम सुरु हुनुअघि हालैका विभिन्न घटनामा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा मौनधारण गरिएको थियो। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा बाढी–पहिरोका कारण मृत्यु भएका नागरिकहरूप्रति आयोजक, प्रतियोगी र उपस्थित अतिथिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।

    सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै Miss Universe Nepal को टिमले नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई सहयोग गरेको आयोजकले जनाएको छ। विपद्का कारण प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग सामग्री वितरण गरिएको थियो।

    नेपालको कला, संस्कृति, भाषा, मौलिक पहिचान तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको रनवेमा प्रतियोगीहरूले नेपाली डिजाइनरहरूले तयार पारेका विशेष पहिरनमा प्रस्तुति दिएका थिए।

    प्रतियोगीहरूका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी खेतान, युमी कुमारी चौधरी, आकृति पुन मगर, बिनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि कुमारी थापा, विमल कुमार पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली कुमारी चदार र हेमा जैगडी लगायतका डिजाइनरहरूले आकर्षक पहिरन तयार गरेका थिए।

    यसैबीच, कार्यक्रममा Miss Universe Nepal की नेसनल डाइरेक्टर संगीता पुरीले भावुक मन्तव्य राख्दै नेपाली कला, संस्कृति र प्रतिभालाई विश्वसामु चिनाउने अभियानलाई यहाँसम्म ल्याउन ठूलो संघर्ष र मेहनत गर्नुपरेको बताइन्।

    “यो यात्रा सहज थिएन। धेरै चुनौतीहरू आए, तर हामी युवाहरू मिलेर निरन्तर मेहनत गर्दै यो कार्यक्रमलाई सफल बनाउँदै यहाँसम्म ल्याउन सफल भएका छौँ,” उनले भनिन्।

    उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टिम, सहयोगी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरिन्।

    आयोजकका अनुसार Miss Universe Nepal 2026 को फाइनल कार्यक्रम सेप्टेम्बर महिनाभित्र आयोजना गर्ने तयारी भइरहेको छ। प्रतियोगिताको विजेताले विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगिता Miss Universe को अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

    नेपाली सिर्जना, प्रतिभा, फेसन र मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्यसहित प्रतियोगिताका आगामी चरणलाई थप भव्य बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar