वीरगंजका निजी विद्यालयसँग आबद्ध विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • वीरगंज – वीरगंजका निजी तथा आवासीय विद्यालयमा आबद्ध विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा आर्थिक राहत दिने उद्देश्यले प्याब्सन पर्सा, प्याब्सन वीरगंज महानगर समिति र वीरगंज न्युरो एण्ड जनरल अस्पताल रिसर्च सेन्टर प्रालिबीच १५ प्रतिशत सहुलियत प्रदान गर्ने सम्झौता भएको छ।

    भदौ ४ गते वीरगंजमा सम्पन्न सम्झौतामा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तव तथा वीरगंज न्युरो एण्ड जनरल अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. श्याम बाबु पटेलको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

    सम्झौताअनुसार प्याब्सन पर्सा तथा प्याब्सन वीरगंज महानगर समितिमा आबद्ध विद्यालयका विद्यार्थी, उनीहरूका आमा वा कानुनी अभिभावक, शिक्षक तथा कर्मचारीले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशत सहुलियत पाउनेछन्।

    सहुलियत न्युरोलोजी, न्युरोसर्जरी, फिजिसियन तथा आन्तरिक चिकित्सा, हाडजोर्नी तथा अर्थोपेडिक्स, सामान्य शल्यक्रिया, मानसिक स्वास्थ्य तथा मनोचिकित्सा, स्त्रीरोग तथा प्रसूति, बालरोग तथा नवजात शिशु, नाक–कान–घाँटी, दन्त तथा मुख स्वास्थ्य र नेत्र रोगसम्बन्धी सेवामा लागू हुनेछ।

    त्यस्तै, २४ घण्टा आकस्मिक सेवा, ICU, NICU, भेन्टिलेटर, शल्यक्रियापश्चात् उपचार तथा निगरानी, विभिन्न वार्ड, प्रयोगशाला तथा औषधालयसम्बन्धी सेवासमेत सम्झौतामा समेटिएका छन्।

    सहुलियत लिन विद्यार्थीले विद्यालयबाट जारी परिचयपत्र, शिक्षक तथा कर्मचारीले विद्यालयको परिचयपत्र वा आधिकारिक प्रमाणपत्र र अभिभावकले आवश्यक परिचय खुल्ने कागजातसहित विद्यालयको सिफारिसपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

    यद्यपि औषधि, प्रयोगशाला सामग्री, विशेष शल्यक्रियाका सामग्री, बाहिरबाट खरिद गर्नुपर्ने सामग्री तथा अन्य विशेष खर्चमा छुट लागू हुने वा नहुने विषय अस्पतालको प्रचलित नीति तथा पक्षहरूबीचको लिखित समझदारीअनुसार हुने जनाइएको छ।

    सम्झौताको उद्देश्य उपचार खर्चमा आर्थिक राहत दिनुका साथै स्वास्थ्य सचेतना, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर तथा अन्य आवश्यक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा समेत सहकार्य गर्नु रहेको जनाइएको छ।

    कार्यक्रममा प्याब्सनका सल्लाहकार तथा संस्थापक सदस्य लालबाबु पटेल, प्याब्सन केन्द्रका बौद्धिक समिति सदस्य डा. हरिशंकर साह, प्याब्सन पर्साकी उपाध्यक्ष सुशीला साह, प्याब्सन वीरगञ्ज महानगर समितिका कोषाध्यक्ष सुरज बाबु पटेल तथा अस्पतालका प्रबन्ध निर्देशक सुमन कार्की लगायतको उपस्थिति थियो।

    सम्झौता २०८३ साल भदौ ४ गतेदेखि एक वर्षसम्म लागू हुनेछ। आपसी लिखित सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

    कार्यक्रमका वक्ताहरूले शिक्षा र स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष जोडिएका क्षेत्र भएकाले सम्झौताले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै उपचार खर्चमा आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar