नेपाली महको निर्यात प्रवर्द्धनका लागि पाँचदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • काठमाडौं। नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार तथा निर्यात प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको व्यापार अनुगमन, व्यापार विश्लेषण तथा निर्यात अनुपालन परामर्श सेवा सम्बन्धी पाँचदिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

    संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (UNIDO) को ग्लोबल मार्केट एक्सेस प्रोग्राम (GMAP) नेपाल परियोजना अन्तर्गत आयोजित उक्त तालिम व्यावसायिक कीट विकास केन्द्र, हरिहरभवनको समन्वय तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (TEPC) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न सरकारी निकाय, व्यापार प्रवर्द्धन संस्थाहरू, मह व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    तालिमको मुख्य उद्देश्य नेपाली महको निर्यात प्रवर्द्धनका लागि आवश्यक व्यापार अनुगमन प्रणाली, बजार विश्लेषण, अन्तर्राष्ट्रिय निर्यात मापदण्ड तथा अनुपालनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

    कार्यक्रममा बोल्दै UNIDO की राष्ट्रिय गुणस्तर पूर्वाधार (National Quality Infrastructure) विज्ञ तथा तालिम संयोजक मञ्जु क्षेत्रीले विश्व बजारमा प्राकृतिक, अर्गानिक तथा प्रिमियम गुणस्तरको महको माग निरन्तर बढ्दै गए पनि नेपाली मह निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड, निर्यात प्रक्रिया, बजार सूचना तथा व्यापारसम्बन्धी तथ्यांकमा पहुँचको अभावजस्ता चुनौती सामना गरिरहेको बताउनुभयो। यस्ता चुनौती समाधान गर्दै निर्यात सम्भावना भएका उद्यमीलाई आवश्यक सहजीकरण गर्न सरकारी तथा निजी क्षेत्रका संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि आवश्यक रहेकाले तालिम आयोजना गरिएको उहाँको भनाइ थियो।

    तालिमका क्रममा व्यापार अनुगमन प्रणाली, व्यापार तथ्यांक संकलन तथा विश्लेषण, निर्यात अनुपालन, अन्तर्राष्ट्रिय बजारका आवश्यकता, स्यानिटरी तथा फाइटोस्यानिटरी (SPS) मापदण्ड, गुणस्तर व्यवस्थापन तथा व्यापार प्रवर्द्धनलगायत विषयमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहसहित अन्य प्राविधिक विज्ञहरूले प्रशिक्षण दिएका थिए।

    सहभागीहरूलाई व्यावहारिक अभ्यास, समूहगत छलफल, केस अध्ययन तथा अन्तरक्रियात्मक सत्रमार्फत व्यापार विश्लेषण, बजार सूचनाको उपयोग तथा निर्यात परामर्श सेवासम्बन्धी आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर पनि प्रदान गरिएको थियो।

    कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र, मौरी विकास केन्द्र, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलगायत मह क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए। त्यसैगरी नेपाल निर्यात व्यवसायी महासंघ, नेपाल मौरीपालक महासंघ, नेपाल महिला उद्यमी महासंघ तथा मह निर्यातमा संलग्न उद्यमी र निर्यातकर्तासहित करिब १८ जनाको सहभागिता रहेको थियो।

    आयोजकका अनुसार तालिमले सरकारी निकाय, व्यापार सहयोगी संस्था तथा निजी क्षेत्रबीचको समन्वय सुदृढ गर्दै नेपाली महलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक ज्ञान, सीप र सहकार्यको आधार तयार गरेको छ। यसबाट सहभागी संस्थाहरूको व्यापार अनुगमन, बजार विश्लेषण तथा निर्यात परामर्श क्षमता अभिवृद्धि हुनुका साथै नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

    आयोजकले यस कार्यक्रमले नेपाली महको मूल्य शृङ्खला सुदृढ गर्न, निर्यातमुखी उद्यमलाई प्रोत्साहन गर्न तथा दीर्घकालीन रूपमा नेपालको निर्यात व्यापारलाई थप प्रतिस्पर्धी र दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar