‘अतिथि देवो भवः’को भावनासहित सफा र सुरक्षित ठमेल निर्माणमा आलोकको जोड

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट सोमई प्रसाद बानियाँ (आलोक) सदस्य पदका उम्मेदवार बनेका छन्। पर्यटन व्यवसायको दीर्घकालीन विकास, व्यवसायीको हित संरक्षण तथा ठमेललाई स्वच्छ, सुरक्षित र अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले उम्मेदवारी दिएका हुन्।

    बानियाँले नेपालको पर्यटनको प्रमुख प्रवेशद्वारका रूपमा रहेको ठमेललाई अझ व्यवस्थित, आकर्षक र पर्यटकमैत्री बनाउन परिषद्ले व्यवसायी, स्थानीय समुदाय तथा सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। उनले ठमेलको पहिचानलाई अझ सुदृढ बनाउन सरसफाइ, सुरक्षा, आतिथ्यता र व्यवसायीबीचको एकतालाई विशेष प्राथमिकतामा राख्ने धारणा व्यक्त गरे।

    सदस्य पदका उम्मेदवार सोमई प्रसाद बानियाँ (आलोक)ले भने, “मेरो मूल मन्त्र ‘अतिथि देवो भवः’ हो। नेपाल भ्रमणमा आउने प्रत्येक पर्यटकले सुरक्षित, स्वच्छ र आत्मीय वातावरणको अनुभूति गर्नुपर्छ। त्यसैले ‘सफा ठमेल, सुरक्षित ठमेल’ निर्माण हाम्रो साझा अभियान हो। परिषद्मा निर्वाचित हुने अवसर पाएँ भने व्यवसायीका हित, पर्यटकको सहजता र ठमेलको अन्तर्राष्ट्रिय छवि अभिवृद्धिका लागि इमान्दारीपूर्वक काम गर्नेछु।”

    उनले ठमेल क्षेत्रको सरसफाइ अभियानलाई निरन्तरता दिने, सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्ने, पर्यटकमैत्री वातावरण निर्माण गर्ने तथा व्यवसायीका साझा समस्यालाई परिषद्मार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। साथै, ठमेललाई विश्वसामु नेपालको उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न सबै व्यवसायी एकजुट हुनुपर्नेमा उनले जोड दिए।
    बानियाँले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, समर्पित र परिणाममुखी टोली भएको उल्लेख गर्दै यस प्यानलले परिषद्लाई नयाँ सोच, सुशासन र प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरे।

    आगामी २०८३ असार २७ गते हुने निर्वाचनमा स्वच्छ, सुरक्षित र समृद्ध ठमेल निर्माणको अभियानलाई सफल बनाउन सक्षम नेतृत्व चयन गर्न सम्पूर्ण सदस्य व्यवसायीसमक्ष आग्रह गर्दै सदस्य पदका उम्मेदवार सोमई प्रसाद बानियाँ (आलोक)ले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न  अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar