‘ठमेलको विकास नै व्यवसायीको समृद्धिको आधार हो’ : रमेश थापा

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट रमेश थापा तृतीय उपाध्यक्ष  पदका उम्मेदवार बनेका छन्। पर्यटन तथा व्यवसायिक क्षेत्रको अनुभवलाई संस्थागत विकाससँग जोड्दै व्यवसायीको साझा हितका लागि काम गर्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी दिएका हुन्।

    रमेश थापाले ठमेल नेपालको प्रमुख पर्यटकीय केन्द्र भएकाले यहाँका व्यवसायीका समस्या समाधान, पर्यटन प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण निर्माणमा परिषद्को भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए। परिषद्लाई सबै व्यवसायीको साझा संस्था बनाउँदै आपसी सहकार्य, विश्वास र एकतालाई थप मजबुत बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

    तृतीय उपाध्यक्ष पदका उम्मेदवार रमेश थापाले भने, “ठमेलको विकास भनेको यहाँका व्यवसायीको विकास हो। परिषद्ले व्यवसायीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। म तृतीय उपाध्यक्षका रूपमा व्यवसायीका आवाजलाई नेतृत्वसम्म पुर्‍याउने, पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाउने र परिषद्लाई अझ सक्रिय तथा परिणाममुखी संस्थाका रूपमा अघि बढाउन पूर्ण रूपमा प्रतिबद्ध छु।”

    थापाले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी तथा निजी निकायसँग प्रभावकारी समन्वय गर्दै ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताए। उनले व्यवसायीबीचको एकता, संस्थागत सुशासन, पारदर्शिता र सदस्यहरूको सक्रिय सहभागितालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar