दक्ष र अनुभवी कर्मचारी हटाउने प्रयासले राज्य कमजोर हुन्छ : डा. भीम रावल

  • कालिका खवर
  • बिहिबार, असार ४, २०८३
  • काठमाडौं । नेकपा नेता डा. भीम रावलले दक्षता र अनुभव हासिल गरेका १० हजारभन्दा बढी कर्मचारीलाई हटाएर राज्यलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

    एक कार्यक्रममा बोल्दै उनले विगतमा पनि राजनीतिक परिवर्तनपछि बाह्य शक्तिको प्रभावमा कर्मचारी कटौती गरिएका कारण राज्यका संस्थाहरू कमजोर बनेको उदाहरण प्रस्तुत गरे। उनले राज्य सञ्चालनमा अनुभवी जनशक्तिको महत्वपूर्ण भूमिका रहने भएकाले कर्मचारी कटौतीजस्ता निर्णय गर्दा दीर्घकालीन प्रभावलाई गम्भीर रूपमा विचार गर्नुपर्ने बताए।

    डा. रावलले लोकसेवा आयोगबाट प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट भएका तथा लामो समयसम्म सेवा गर्दै अनुभव हासिल गरेका कर्मचारीलाई निष्कासन गर्नु नेपालजस्तो विकासोन्मुख देशका लागि घातक हुने चेतावनी दिए।

    उनले प्रशासनिक संरचनालाई सबल, सक्षम र प्रभावकारी बनाउनुपर्ने बेला अनुभवी कर्मचारीलाई हटाउने नीति अवलम्बन गरिए राज्यका सेवा प्रवाह, सुशासन तथा संस्थागत क्षमतामै नकारात्मक असर पर्ने उल्लेख गरे।

    रावलले सरकारलाई कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय गर्दा राष्ट्रहित, प्रशासनिक स्थायित्व र जनसेवा प्रवाहको प्रभावकारितालाई केन्द्रमा राख्न आग्रह गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar