पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर नियन्त्रण

  • कालिका खवर
  • शुक्रबार, बैशाख ११, २०८३
  • पर्सा।  सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

    सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले मिति २०८३ साल वैशाख १० गते विशेष सूचनाका आधारमा निगरानी बढाउँदै उक्त स्कुटरहरू बरामद गरेको हो।

    प्राप्त विवरण अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगञ्ज महानगरपालिका–२५ स्थित सिर्सिया नाकाबाट ७ थान र विन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठा नाकाबाट १ थान गरी जम्मा २२ थान स्कुटर नियन्त्रणमा लिइएको हो।

    बरामद गरिएका स्कुटरहरूको अनुमानित मूल्य रु. १७ लाख ३० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। ती स्कुटरहरू अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउने प्रयास भइरहेको अवस्थामा फेला पारिएको बताइएको छ।

    प्रहरीका अनुसार स्कुटर ल्याउने व्यक्तिहरू सुरक्षाकर्मी देखेपछि सामान छाडेर फरार भएका छन्। फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको जनाइएको छ।

    नियन्त्रणमा लिइएका सबै स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    यस सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले घटनाको पुष्टि गर्दै अवैध तस्करी नियन्त्रणका लागि निगरानी अझ कडा पारिएको जानकारी दिएका छन्।

    सीमा क्षेत्रमा पछिल्लो समय भन्सार छलीका घटनाहरू बढ्दै गएकाले सुरक्षाकर्मीहरूले विशेष सतर्कता अपनाउँदै नियमित गस्ती तथा चेकजाँचलाई तीव्र बनाएका छन्।

    यस प्रकारका कारबाहीले राज्यको राजस्व संरक्षण गर्नुका साथै अवैध व्यापार नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar