गौरिशंकर सुपर लिगको उपाधिका लागि क्रिकेट एक्सेलेन्स र एङ्गल्स स्पोर्ट्स भिड्ने

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • ललितपुर (गोदावरी )– गौरिशंकर सुपर लिग यू–१७ प्रतियोगिताको उपाधिका लागि क्रिकेट एक्सेलेन्स सेन्टर काठमाडौं र एङ्गल्स स्पोर्ट्स एकेडेमी भिड्ने भएका छन् ।

    सेमिफाइनलमा क्रिकेट एक्सेलेन्स सेन्टरले वन डे क्रिकेट एकेडेमी लाई २१ रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेक्सस क्रिकेट एकेडेमीलाई १०१ रनले पराजित गर्दै एङ्गल्स स्पोर्ट्स एकेडेमीले फाइनलमा प्रवेश पाएका हुन् ।

    पहिले ब्याटिङ गरेको सिईसी काठमाडौं ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रनको विशाल योगफल तयार गर्‍यो। प्रशिद्ध जैशीले शानदार शतक प्रहार गर्दै १०३ रनमा अविजित रहे। उनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए। आदित्य ढकालले ४९ रनको महत्वपूर्ण योगदान दिए । वन डे क्रिकेट एकेडेमीका बलरमध्ये मुबारक नदाफले २ विकेट लिए भने अनिल बस्नेतले १ विकेट हात पारे।

    १७५ रनको लक्ष्य पछ्याएको वन डे क्रिकेट एकेडेमी राम्रो सुरुवातका बावजुद १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमै सीमित भयो। अविशेक यादवले ४४ रन र धनराज दाहालले २५ रन बनाए भने अन्य ब्याट्सम्यानले निरन्तरता दिन सकेनन्।
    सिईसी काठमाडौंका बलरहरूले दबाब कायम राखे। नीमा तामाङले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने अनिकेत सिंहले २ विकेट हात पारे। यस जितसँगै सिईसी काठमाडौं गौरिशंकर सुपर लिग यू–१७ को फाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार नै भएको अर्को सेमिफाइनलमा एङ्गल्स स्पोर्ट्स एकेडेमीले शानदार प्रदर्शन गर्दै नेक्सस क्रिकेट एकेडेमी लाई १०१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

    पहिले ब्याटिङ गरेको एङ्गल्स स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २२८ रनको विशाल योगफल तयार गर्‍यो। जॉय थापाले अविजित रहँदै उत्कृष्ट शतक प्रहार गर्दै ११३ रन बनाए। सन्दीप साउदले ५२ रनको महत्वपूर्ण योगदान दिए भने धिरज यादव ४२ रनमा अविजित रहे। टोलीले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै विपक्षीमाथि दबाब बनाएको थियो।

    २२९ रनको लक्ष्य पछ्याएको नेक्सस क्रिकेट एकेडेमी दबाबमा पर्दै १९.४ ओभरमा सबै विकेट गुमाएर १२७ रनमै समेटियो। आर्यन बीकेले २४ रन र अविनीत चौलागाईंले २३ रन बनाए भने लक्ष्मण भुर्तेलले १९ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

    एङ्गल्सका बलरहरू पनि प्रभावशाली देखिए। रिजवान अन्सारीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने सन्दीप साउदले २ विकेट हात पारे। यस जितसँगै एङ्गल्स स्पोर्ट्स एकेडेमी फाइनलमा प्रवेश गरेको छ । यस प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar