कालभैरब उसु साण्डा प्रो च्याम्पियनसिप भब्य रुपमा सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, असार २३, २०८३
  • ललितपुर–कालभैरब स्पोट्र्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा कालभैरब उसु साण्डा प्रो च्याम्पियनसिप–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बागमती, सुदुरपश्चिम, मधेश, कर्णाली र लुम्बिनी , गण्डकीगरी छ प्रदेशका खेलाडीहरूको सहभागिता रहेको थियो।
    प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार सिद्धि ब्यन्जनकारले बिरुवामा पानी हालेर उदघाटन गर्नुभएको थियो। कार्यक्रमको समापन सिङ्गापुरबाट पाल्नुभएका रिन्पोछे थुप्देन कर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उसु महासंघका पदाधीकारी लगाएत खेलकुदका हस्तिहरुको उपस्थीति थियो।


    कार्यक्रमको सुरुवात कालभैरब स्पोट्र्स एकेडेमीका उपाध्यक्ष सन्जित शाहिले स्वागत मन्तव्यबाट गरेका थिए । त्यस्तै ऐकेडेमीका बरिष्ठ उपाध्यक्ष दिपेश बुजुले प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य खेलाडीलाई व्यावसायिक खेलतर्फ उन्मुख गराउनु रहेको बताए । रिङमा खेलाडीहरूले आफ्नो मेहनत, पसिना र जोखिमका साथ प्रतिस्पर्धा गर्ने भएकाले उनीहरूले खेलकै माध्यमबाट सम्मानजनक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले साण्डा प्रो प्रतियोगिता सुरु गरिएको उनले बताए । साथै, उनले यस प्रतियोगितालाई हरेक वर्ष अझ भव्य रूपमा निरन्तर आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
    प्रतियोगितामा ६ वटा साण्डा प्रो इभेन्ट र १२ वर्षमुनिका जुनियर खेलाडीहरूका ५ वटा लाइट साण्डा फाइट सम्पन्न भएका थिए। प्रो इभेन्टका सबै विजेता तथा उपविजेताले नगद पुरस्कार, ट्रफी, पदक तथा ब्राइट लुक्स र आई अप्टिकलको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए।

    प्रतियोगिताका प्रमुख नतिजाहरू
    मेन इभेन्टको महिला ५२ केजी तौल समूहमा रेस्मा ब्लोनले शान्ति थिङलाई पराजित गर्दै उपाधि जितिन्। पहिलो राउन्ड शान्ति थिङले जिते पनि त्यसपछिका दुई राउन्डमा रेस्माले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो नाममा पारिन्।


    मेन इभेन्टको पुरुष ५२ केजी तौल समूहमा शान्त चौधरीले आशिष तामाङलाई लगातार दुई राउन्ड जित्दै प्रभावशाली प्रदर्शनसहित उपाधि जिते।

    अन्य साण्डा प्रो इभेन्टहरू
    पुरुष ४८ केजी तौल समूहमा बिबेक बिकेलाई नकआउट गर्दै ओमप्रकाश कोहोलीले जित निकाले । यस्तै महिला ४८ केजी तौलमा सोनी तामाङलाई सृजना बिसीले जितीन् । पुरुष ४५ केजीमा मिरक लिम्बुलाई सम्राट थापाले पाखा लगाए । महिला ४५ केजी तौल समूहमा सोनी तामाङलाई आरुसी न्यौपानेले हराइन् ।

    यसैगरी पुरुष ४२ केजीमा उत्सव पुरी विरुद्ध विशाल राना निकै प्रतिस्पधामक खेल भएको थियो , तर उत्सबले उत्कृष्ट प्रर्दशन गरी जित्न सफल भए । बिजेता खेलाडि सबैले जनहि दश दश हजार पुरस्कार रकम पाए।

    प्रतियोगिता भरि खेलाडीहरूले उच्चस्तरीय प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक प्रतिस्पर्धाको अनुभव दिलाएका थिए। एकेडेमीका अध्यक्ष निकेश श्रेष्ठका अनुसार यस प्रतियोगिताले नेपालमा उसु साण्डा खेललाई व्यावसायिक बनाउने अभियानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ। आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्यसहित यसलाई निरन्तर आयोजना गरिने श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar