जिम्मेवारी ठूलो भयो तर म देशका लागि केही गरेर देखाउँछु : रुबी ठाकुर

  • कालिका खवर
  • बिहिबार, चैत्र २६, २०८२
  • काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचन हुनुअघि २६ वर्षीया उपसभामुख उम्मेदवार रुबी कुमारी ठाकुर निकै उत्साहित छिन्। श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी उनको मुहारमा एउटा फरक चमक छ भने बोलीमा दृढ विश्वास।

    बिहीबार उम्मेदवारी दर्तापछि सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ठाकुरले आफूले पाउने नयाँ जिम्मेवारीलाई चुनौतीपूर्ण तर अवसरका रूपमा लिएको बताएकी छन्। ‘म धेरै खुशी छु,’ उनले आफ्नो उत्साह साट्दै भनिन्, ‘जिम्मेवारी अलि ठूलो भएको महसूस भएको छ, तर म यो भारी कुशलतापूर्वक बोक्न सक्छु भन्नेमा ढुक्क छु।’

    प्रतिनिधि सभामा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ। प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोरप्रसाद अर्याल सभामुख भइसकेका छन्।

    त्यसैले उपसभामुखमा रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवारलाई नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि समर्थन गर्ने भएका छन्।

    उपसभामुख बन्ने निश्चित भएपछि देशका लागि केही गर्ने हुटहुटी ठाकुरमामा प्रष्टै देखिन्छ। ‘म देशका लागि सबै थोक गर्नेछु र सधैँ देशको साथमा रहनेछु,’ उनले भनिन्।

    आफ्नो नयाँ भूमिकामा खरो उत्रने प्रतिबद्धता जनाएकी ठाकुरले देशप्रतिको उत्तरदायित्वलाई नै आफ्नो मुख्य प्राथमिकतामा राख्ने बताएकी छन्। प्रतिनिधि सभाको उपसभामुखका लागि राप्रपाबाट सरस्वती तामाङले उम्मेदवारी दिएका छन्। उपसभामुखका लागि शुक्रबार प्रतिनिधि सभामा निर्वाचन हुने तय गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar