मन्त्री र सांसदले आफ्ना आफन्तलाई पदमा नियुक्त गरेको सुन्न नपरोस् : सांसद महावीर पुन

  • कालिका खवर
  • बुधबार, चैत्र २५, २०८२
  • काठमाडौँ । सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

    सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गरे। फरक प्रसङ्गमा बोल्दै उनले गुल्मी जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘गुल्मी जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरिएको रहेछ। तर हिमाली जिल्लाले पाउने सुविधाहरू केही पनि त्यहाँ पुगेको रहेनछ। हिमाली जिल्लाले पाउनुपर्ने सेवा सुविधाहरू उपलब्ध गराउन अनुरोध गर्दछु।

    साथै म सरकार र सबै राजनीतिक दलहरूलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्। यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि सुरु भएको हो। यो भाइरसले अझै पनि छोडेको छैन। आगामी दिनमा यो मन्त्रीले, सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्‍यो भन्ने कुरा सुन्नु नपरोस्।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar