मदिरा सेवन गरेर विद्यालयको बस चलाउँदा दुर्घटना, फरार हुन खोज्दा चालक पक्राउ 

  • कालिका खवर
  • मङ्लबार, चैत्र २४, २०८२
  • पर्सा। मदिरा सेवन गरी लापरवाहीपूर्वक सवारी चलाउँदा वीरगञ्जको श्रीपुर क्षेत्रमा एक महिलालाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    राधेमाईबाट मुर्ली चोकतर्फ जाँदै गरेको ना ७ ख ७६३३ नम्बरको सेन्ट जेभियर्स स्कूलको बसले वडा प्रहरी कार्यालय श्रीपुर अगाडि साईकलमा सवार एक महिलालाई ठक्कर दिएको थियो। दुर्घटनापछि बस चालक घटनास्थलबाट भाग्न खोजेका थिए।

    तर, वडा प्रहरी कार्यालय श्रीपुरमा खटिएको प्रहरी टोलीले तत्कालै सक्रियता देखाउँदै बसलाई लखेटेर चालकसहित नियन्त्रणमा लिन सफल भएको हो।

    प्रहरीका अनुसार पक्राउ पर्ने चालक सोही विद्यालयका विकास भगत मल्लिक रहेका छन्। उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।

    दुर्घटनामा घाइते भएकी महिलालाई तत्कालै नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। हाल उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। साथै, प्रहरीले मदिरा सेवन गरेर सवारी नचलाउन सर्वसाधारणलाई पुनः सचेत गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar