प्रधानमन्त्रीलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र: ‘न्याय र प्रतिशोधबीचको सीमा धमिलो नहोस्’

  • कालिका खवर
  • आइतवार, चैत्र २२, २०८२
  • काठमाडौं । देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै डा. अबुल हुसेन अन्सारीले प्रधानमन्त्री बालेन शाह लाई खुला पत्र लेखेका छन्। उनले लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता र नेतृत्वप्रति अपेक्षासहित लेखिएको उक्त पत्रमा पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर प्रश्न उठाएका छन्।

    पत्रमा अन्सारीले प्रधानमन्त्री शाहलाई नयाँ पुस्ताको प्रतिनिधि नेतृत्वका रूपमा उल्लेख गर्दै पारदर्शी, उत्तरदायी र न्यायपूर्ण शासनप्रति जनताको अपेक्षा उच्च रहेको बताएका छन्। तर केपी शर्मा ओली लाई पक्राउ गर्ने निर्णयले नागरिकमा आशंका, असन्तोष र अन्योल सिर्जना गरेको उनको भनाइ छ।

    उनले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै न्याय र प्रतिशोधबीचको सीमाना धमिलो हुन नहुने उल्लेख गरेका छन्। आवेग, दबाब वा क्षणिक राजनीतिक लाभका आधारमा निर्णय लिइएमा त्यसले दीर्घकालीन रूपमा राष्ट्रलाई क्षति पुर्‍याउने चेतावनी पनि दिएका छन्।

    पत्रमा ओलीले अदालतमा दिएको भनाइहरू उल्लेख गर्दै राज्य संयन्त्रको कमजोरीतर्फ संकेत हुन सक्ने विषयहरूलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने अन्सारीको धारणा छ। उनले पूर्वप्रधानमन्त्रीको भूमिकालाई सम्मानजनक रूपमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
    अन्सारीले लोकतन्त्रको मूल मर्म केवल चुनाव जित्नु नभई विरोधी विचारको सम्मान, कानुनी प्रक्रियाको पालना, शक्तिको सन्तुलन र न्यायप्रतिको प्रतिबद्धता भएको स्पष्ट पारेका छन्। उनले प्रधानमन्त्रीका निर्णयहरूले भविष्यमा इतिहासले सोध्ने प्रश्नहरूको उत्तर तय गर्ने पनि उल्लेख गरेका छन्।

    पत्रमार्फत उनले प्रधानमन्त्रीलाई निष्पक्ष छानबिन सुनिश्चित गर्न, राजनीतिक प्रतिशोधको आभास हटाउन, वरिष्ठ नेतृत्वप्रति सम्मानजनक व्यवहार अपनाउन र जनताको विश्वास जोगाउन सुझाव दिएका छन्।

    अन्त्यमा अन्सारीले देश संक्रमणकालीन अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीका हरेक कदमले भविष्यको दिशा निर्धारण गर्ने बताएका छन्। उनले सत्यको खोजी, न्यायको सुनिश्चितता र राष्ट्रिय एकताको सन्देश दिन आवश्यक रहेको जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar