नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान

  • कालिका खवर
  • मङ्लबार, चैत्र ३, २०८२
  • काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघको १२ औं अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सबै गैरआवासीय नेपालीलाई अझै एकताबद्ध भई राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे ।

    मन्त्री शर्माले संघको नयाँ कार्यसमिति अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “अब हामी अझ एकताबद्ध भएर अगाडि बढ्नेछौँ र सहकार्य झनै घनिष्ठ हुनेछ ।” उनले लगानीसँगै ज्ञान, सीप र प्रविधिको आदान–प्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याउन तथा नेपाली भाषा, संस्कृति र पहिचानको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न प्राथमिकता दिन गैरआवासीय नेपालीहरूलाई अनुरोध गरे ।

    पश्चिम एसियामा देखिएको पछिल्लो परिस्थितिमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउन गैरआवासीय नेपाली समुदायले देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको मन्त्री शर्माले उल्लेख गरे । साथै, उनले विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्न परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    गैरआवासीय नेपालीहरूले विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै आएकोमा उनले प्रशंसा व्यक्त गरे । साथै, नयाँ सरकारले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्केर योगदान दिनसक्ने अनुकूल वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गरे । मन्त्री शर्माले गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar