ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २६, २०८२
  • काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको संकमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए।

    उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त नगरपालिका-७, ८ र ९ का पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ । त्यसैगरी, ५६ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ । शाखा प्रमुख गौतमले अहिले संघ, प्रदेश कार्यालयबाट उक्त ठाउँमा चिकित्सकसहितको टोली पुगेर दादुरा महामारी नियन्त्रणको काम भइरहेको बताए।

    उनले यही फागुनको पहिलो साता भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले दादुरा सारेको जानकारी दिए। “भारतबाट आएका एक जना बिरामी कसैलाई नभनी उपचार गर्न अस्पताल पुगेका थिए । अनि तिनै बिरामीबाट अन्य मानिसमा दादुरा फैलिएको अनुमान गरिएको छ”, उनले भने, “एक जना संक्रमितबाट अर्कोमा फैलिन १४ दिन लाग्ने भएकाले भर्खरै उक्त ठाउँमा दादुरा फैलिएको थाहा भएको हो ।”

    दादुरा अत्यन्तै संक्रमक भएकाले एक जना संक्रमितले १८ जनासम्म संक्रमण सार्न सक्दछ । शाखा प्रमुख गौतमले १४ बिरामीको दादुरा परीक्षणका लागि आवश्यक नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताए। उनका अनुसार हाल त्यस क्षेत्रमा दादुराझैँ देखिने ३० जना बिरामी भर्ना भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar