काठमाडौँ–८ मा एमालेप्रति बढ्दो भरोसा, राजेश शाक्यको माहोल बलियो

  • कालिका खवर
  • सोमवार, फाल्गुन १८, २०८२
  • काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर–८ मा आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मतदाताको मनस्थिति क्रमशः स्पष्ट बन्दै गएको देखिन्छ। फागुन २१ गते हुने मतदानमा कसलाई रोज्ने भन्ने विषयमा अधिकांश मतदाताले झण्डै निर्णय गरिसकेको स्थानीय तहमा गरिएको संवाद र अनौपचारिक सर्वेक्षणले संकेत गरेको छ।

    काठमाडौँ महानगरपालिकाका वडा १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिकाका वडा ४ र ५ समेटिएको यस क्षेत्रमा यसपटक २२ जना उम्मेदवार चुनावी मैदानमा छन्। दलीयतर्फ १८ र स्वतन्त्रतर्फ ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यद्यपि मुख्य प्रतिस्पर्धा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारबीच केन्द्रित देखिन्छ।

    स्थानीय मतदातासँग गरिएको कुराकानीमा अन्य दलको तुलनामा एमालेप्रति आशा र भरोसा बढी देखिएको छ। २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट एमालेले जित हासिल गरेको र २०७९ मा पराजय बेहोरेको इतिहासले पनि यसपटक मतदाताको मनोविज्ञानमा प्रभाव पारेको स्थानीयको भनाइ छ।

    यसपटक एमालेले शालीन, बौद्धिक र विकासप्रेमी नेताका रूपमा चिनिनु भएका राजेश शाक्यलाई उम्मेदवार बनाएको छ। मतदाताहरूका अनुसार शाक्यले अघिल्ला कार्यकालमा विकास निर्माण, संस्कृति तथा सम्पदा संरक्षणमा खेलेको भूमिकाले उहाँप्रति भरोसा थप बलियो बनाएको छ।

    एक स्थानीय मतदाताले भने, “नयाँ भन्ने नारा धेरै आयो, तर एजेन्डाले मन छोएन। अहिलेसम्म अरु दलभन्दा एमालेका उम्मेदवारले नै बढी विश्वस्त बनाएका छन्।” उहाँले आफ्नो परिवारका ९ मत नै एमालेका पक्षमा जाने दाबी गर्नुभयो।

    नागार्जुन नगरपालिकामा भेटिएका मतदाताहरू पनि नयाँ दलले टोल–टोलमा माहोल बनाउन खोजे पनि काठमाडौँका मतदातालाई खासै प्रभाव पार्न नसकेको बताउँछन्। काठमाडौँ–८ (क) बाट शाक्य २०७४ सालमा सानदार जित निकाल्न सफल हुनु भएको थियो।

    विद्यालय, पार्क, सडक, खानेपानी, ढल तथा भौतिक पूर्वाधार विकासमा भएका कामहरूले शाक्यको छवि बलियो बनाएको मतदाताको बुझाइ छ। यद्यपि क्षेत्रका सबै मतदाता पूर्ण रूपमा एकतर्फी भने छैनन्। केही मतदाता अझै निर्णयविहीन छन् भने रास्वपा र कांग्रेसप्रति झुकाव राख्ने मतदाताहरू पनि भेटिएका छन्। “परिवर्तनको कुरा धेरै हुन्छ, तर परिवर्तन किन र कसरी भन्ने स्पष्ट छैन,” एक मतदाताले प्रतिप्रश्न गर्नुभयो।

    समग्रमा, मतदातासँगको संवाद र अवस्थाको विश्लेषण गर्दा काठमाडौँ क्षेत्र नम्बर–८ मा एमालेका राजेश शाक्यको माहोल अन्य प्रतिस्पर्धीको तुलनामा अगाडि देखिन्छ। कांग्रेसकी सपना राजभण्डारी, रास्वपाका बिराजभक्त श्रेष्ठ, नेकपाका सुमन सायमीलगायत उम्मेदवारको पनि आफ्नै आधार रहे पनि एमालेका परम्परागत मतदाता खासै विचलित नभएको देखिन्छ। यही कारण यस क्षेत्रमा एमालेको जितको सम्भावना बलियो देखिएको छ।

    ५२ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रको अन्तिम फैसला भने फागुन २१ गते हुने मतदानपछि मात्रै स्पष्ट हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar