बहुदरमाईमा अशोक टेमानीको महिला संवाद, भ्रष्टाचार अन्त्यको प्रतिबद्धता

  • कालिका खवर
  • बिहिबार, फाल्गुन १४, २०८२
  • वीरगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक कुमार टेमानीले महिलासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा स्पष्ट पारेका छन् ।

    पर्साको बहुदरमाई नगरपालिका–२, सिर्सियारीमा आयोजित विशेष छलफल कार्यक्रममा उनले देशमा जेन–जी आन्दोलनपछि सिर्जना भएको नयाँ राजनीतिक परिस्थितिबारे चर्चा गर्दै महिलाहरूका माग, समस्या र अपेक्षाबारे गहन छलफल गरेका थिए ।

    कार्यक्रमका क्रममा टेमानीले महिलाहरूका सीप, क्षमता र सम्भावनाबारे जानकारी लिँदै उनीहरूसँग लामो समय संवाद गरेका थिए । उनले सहभागी महिलाहरूबाट प्रत्यक्ष रूपमा गुनासा, सुझाव तथा मागहरू सुने । छलफलमा सहभागी महिलाहरूले भ्रष्टाचारको अन्त्य, बेथिति र अपारदर्शिताको खारेजी, स्थिर तथा जबाफदेही सरकारको स्थापना, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनजस्ता मुद्दा उठाएका थिए ।

    टेमानीले महिलाहरूका माग र आकाङ्क्षासँग आफू तथा आफ्नो पार्टी पूर्ण रूपमा एकबद्ध रहेको बताए । “यो आन्दोलनले देशमा नयाँ चेतना जगाएको छ । म निर्वाचित भएपछि तपाईँहरूले देखेको समृद्ध र न्यायपूर्ण मुलुक निर्माणमा कुनै कसर बाँकी राख्ने छैन,” उनले भने ।

    महिला पुस्ताले उठाएका भ्रष्टाचार, बेथिति, अपारदर्शिता र अस्थिर सरकारको मुद्दालाई सम्बोधन गर्न जसपा नेपालका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्दै उनले यो जित महिलाहरूको जित हुने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar