गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने आत्माराम साहको प्रतिबद्धता

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • कलैया, ५ फागुन । आम जनता पार्टी (आजपा)का नेता एवं बारा–२ का उम्मेदवार आत्माराम प्रसाद साहले घरदैलो एवं चुनावी छलफल, भेटघाटलाई तिब्रता दिएका छन् । बाराको पचरौता नगरपालिकाको बेनौली, बेलदारी, बैरिया लगायतका गाउँमा घरदैलो गरेका साहले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ‘मोबाइल’ छापमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेका छन् ।

    साहले बाराको समग्र विकासका साथै धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थल गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाराको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि काम गर्ने मतदाता एवं बाराली जनतासंग उनले प्रतिबद्धता गरेका छन् ।

    पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना अनुसार काम गर्ने उनले जनाएका छन् । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता साहले व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता आजपाले आफ्नो घोषणापत्रमार्फत व्यक्त गरेको बताउदै सोही अनुसार आफूले काम गर्ने बताए ।

    यसैगरी पार्टीको घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पुरा गर्ने उनले जनाएका छन् । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar