छपकैया नाकामा तस्करी, इन्चार्ज मदन मल्लमाथि संरक्षणको आरोप

  • कालिका खवर
  • सोमवार, फाल्गुन ४, २०८२
  • वीरगंज– निर्वाचनको संवेदनशील घडीमा शान्ति र सुरक्षा सुनिश्चित गर्नु पर्ने बेला इलाका प्रहरी कार्यालय छपकैया विवादको केन्द्रमा पुगेको छ। यहाँका इन्चार्ज मादन मल्ल माथि तस्करी नियन्त्रणको साटो संरक्षण गरेको आरोप उठ्न थालेको छ।

    स्थानीय स्रोतका अनुसार पछिल्ला दिनहरूमा वीरगंज महानगरपालिका–छपकैया क्षेत्रमा अवैध सामानको ओसारपसार उल्लेख्य रूपमा बढेको छ। खुला सीमा र निर्वाचनको व्यस्ततालाई अवसर बनाउँदै तस्करी गतिविधि मौलाएको आरोप लागिरहेको छ, तर नियन्त्रणका लागि खटिनुपर्ने प्रहरी संयन्त्र मौन रहेको भन्दै स्थानीय नागरिकहरू आक्रोशित छन्।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठक निर्वाचनको शान्तिपूर्ण सञ्चालनमा केन्द्रित भए तापनि मातहतको कार्यालयबाटै लापरवाही भएको गुनासो बढेको छ। छपकैया नाकाबाट दैनिक रूपमा विभिन्न किसिमका अवैध वस्तु भित्रिने गरेको चर्चा बजारमा व्यापक छ।

    स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालयको क्राइम ब्रान्चसँग निकट सम्बन्ध भएकाले इन्चार्ज मल्लमाथि कुनै कारबाही नहुने “अभेद्य संरक्षण” भएको हल्ला फैलिएको छ। यद्यपि आधिकारिक पुष्टि भने छैन, स्थानीय तहमा यो विषय चुलिँदै गएको छ।

    प्रहरी संगठनभित्रको कथित आन्तरिक संरक्षण र राजनीतिक प्रभावले तस्करी नियन्त्रणमा कमजोरी देखिएको भन्ने प्रश्न उठ्न थालेको छ। यदि आरोप सत्य हुन् भने यसले प्रहरीको विश्वसनीयतामाथि गम्भीर प्रभाव पार्ने निश्चित छ।

    निर्वाचन जस्तो संवेदनशील समयमा सीमा क्षेत्रबाट हुने अवैध गतिविधि केवल राजस्व हानीको विषय मात्र नभई सुरक्षा व्यवस्थामाथि पनि चुनौती हो। स्थानीयवासीले सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक गर्न माग गरेका छन्। छपकैया नाकामा तस्करी मौलाएको भए यसको जिम्मेवारी इन्चार्ज मल्लले टार्न नसक्ने जनमत बढ्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar