सुरज पाण्डेद्वारा ‘आमा स्वाभिमान अभियान’ सार्वजनिक: गर्भावस्थादेखि वृद्धवस्थासम्म विशेष प्याकेजको घोषणा

  • कालिका खवर
  • आइतवार, फाल्गुन ३, २०८२
  • बुटवल । आगामी निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरज पाण्डेले महिला तथा आमाहरूको सम्मान र सुरक्षालाई लक्षित गर्दै एक विशेष र महत्त्वाकांक्षी चुनावी एजेन्डा सार्वजनिक गर्नुभएको छ। ‘संसदमा मेरो आवाज’ भन्दै उहाँले घोषणा गर्नुभएको ‘उज्यालो नेपाल आमा स्वाभिमान अभियान’ ले गर्भावस्थादेखि ज्येष्ठ नागरिक अवस्थासम्मका आमाहरूलाई आर्थिक, सामाजिक र कानुनी रूपमा सबल बनाउने लक्ष्य राखेको छ। यस अभियानले नेपाली समाजको मेरुदण्डका रूपमा रहेका आमाहरूको योगदानलाई राज्यले ठोस कदर गर्नुपर्ने मान्यता अघि सारेको छ।

    प्रस्तावित योजनाअनुसार, गर्भावस्था सुरु भएदेखि बच्चा जन्मिएको ६ महिनासम्म प्रत्येक आमालाई पोषण र औषधोपचारमा सहयोग पुर्याउने उद्देश्यले मासिक ५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिनेछ। यसका साथै, सोही अवधिभर आमा र नवजात शिशुको सम्पूर्ण स्वास्थ्य उपचार, अस्पताल भर्ना, शल्यक्रिया र औषधि सरकारी तथा साझेदार अस्पतालहरूमा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने पाण्डेले प्रतिबद्धता जनाउनुभएको छ।

    अस्पतालहरूमा आमाहरूका लागि विशेष प्राथमिकता र छुट्टै कक्षको व्यवस्था गरी स्वास्थ्य सेवालाई मर्यादित बनाउने योजना उहाँको छ।
    आमाहरूले भोग्नुपर्ने सामाजिक र कानुनी जटिलतालाई सम्बोधन गर्न इन्जिनियर पाण्डेले निःशुल्क कानुनी सहायताको अवधारणा अघि सार्नुभएको छ। घरेलु हिंसा, सम्पत्ति विवाद, श्रम शोषण, बालविवाह र दाइजो जस्ता कुप्रथाबाट पीडित आमाहरूका लागि राज्यले नै वकिल र अदालती खर्च बेहोर्ने गरी ‘विशेष कानुनी सहायता सेल’ गठन गर्ने प्रस्ताव उहाँको एजेन्डामा समावेश छ। यसले न्यायमा पहुँच नभएका आमाहरूलाई राज्यको उपस्थितिको महसुस गराउने विश्वास लिइएको छ।

    ज्येष्ठ नागरिक आमाहरूको सम्मानजनक जीवनयापनका लागि पाण्डेले आर्थिक सहुलियतका नयाँ मोडलहरू प्रस्तुत गर्नुभएको छ। ६० वर्ष उमेर नाघेका आमाका सन्तानहरूले सरकारी वा निजी क्षेत्रमा रोजगारी गर्दा उनीहरूको पारिश्रमिकमा ७५ प्रतिशतसम्म आयकर छुट पाउने व्यवस्था गरिनेछ, जसले सन्तानलाई आफ्ना वृद्ध आमाबाबुको हेरचाह गर्न आर्थिक रूपमा प्रोत्साहित गर्नेछ। साथै, ६० वर्ष पुगेका आमाहरू बसोबास गर्ने घरको बिजुली, खानेपानी र घरजग्गा करमा थप २५ प्रतिशत छुट दिने व्यवस्था गरी उनीहरूलाई आर्थिक भारबाट मुक्त गराउने उम्मेदवार पाण्डेको योजना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar