वीरगंज –३२ चोरनी गाउँमा पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार रामकिशोर सिंह (पराग) को रात्री भेटघाट सम्पन्न

  • कालिका खवर
  • आइतवार, माघ २५, २०८२
  • वीरगंज – पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर सिंह (पराग) ले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ अन्तर्गत चोरनी गाउँमा रात्री भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आयोजित उक्त कार्यक्रम उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको हो।

    भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विगतका नेताहरू चुनावको समयमा मात्र भोट माग्न आउने र जितेपछि बेवास्ता गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले अब यस्तो पुरानो संस्कारको अन्त्य हुनुपर्ने धारणा राख्दै उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरे। साथै, उनलाई अग्रिम शुभकामना दिँदै पुराना नेताजस्तै नबन्ने अपेक्षा समेत राखेका थिए।

    उम्मेदवार सिंहले स्थानीयवासीलाई आश्वस्त पार्दै निर्वाचित भएपछि सबैभन्दा पहिले आफ्नै निर्वाचन क्षेत्रका बासिन्दा तथा युवाहरूसँग समन्वय गरी सल्लाह–सुझाव संकलन गर्ने सचिवालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य र रोजगारीमा युवाहरूको सहज पहुँच सुनिश्चित गर्ने वातावरण निर्माण गर्ने तथा ‘युवाको नीति, युवाकै नेतृत्व’ अवधारणालाई व्यवहारमा लागू गर्ने योजना रहेको बताए।

    कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार ई. तेज नारायण यादव, जिल्ला संयोजक रामबाबु प्रसाद यादव लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। रात्री भेटघाट कार्यक्रमले स्थानीय स्तरमा नयाँ आशा र उत्साह पैदा गरेको सहभागीहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar