एमाले अध्यक्ष ओलीको प्रश्न– आगो लगाएर मार्ने उनीहरु अनि हत्यारा हुने केपी ओली ?

  • कालिका खवर
  • बिहिबार, माघ २२, २०८२
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही समूहहरूले नियोजित रूपमा अराजक अवस्था सिर्जना गरेर त्यसको दोष आफूहरूलाई थोपर्ने प्रयास गरेको बताएका छन् । झापामा स्थानीयवासीसँगको भेटघाटका क्रममा बोल्दै उनले यस्ता गतिविधि राष्ट्रविरोधी मानसिकताबाट प्रेरित भएको दाबी गरे।

    उनले भदौ २३ र २४ गते घटेका हिंसात्मक घटनालाई स्मरण गर्दै केही तत्वहरूले देशभर अस्थिरता फैलाउने उद्देश्यले उपद्रव मच्चाएको बताए। आफूले पहिले नै सम्भावित जोखिमबारे सतर्क गराए पनि पूर्ण रूपमा रोक्न नसकिएको उनको भनाइ थियो।

    ओलीले आगजनी र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूले उल्टै आफूलाई हत्यारा र षड्यन्त्रकारीको रूपमा चित्रित गर्न खोजेको गुनासो गरे। “आगो लगाएर मानिस मार्ने उनीहरू, अनि हत्यारा चाहिँ केपी ओली हुने ?” भन्ने प्रश्न गर्दै उनले त्यस्ता आरोपलाई असत्य र नियोजित प्रचारको संज्ञा दिए।

    प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउने आदेश दिने भन्ने धारणा गलत रहेको उनको जिकिर थियो। उनले सुरक्षाकर्मीहरूले परिस्थितिअनुसार निर्णय लिने बताउँदै आफूले गोली चलाउने निर्देशन दिएको आरोप निराधार भएको दाबी गरे। प्रधानमन्त्रीलाई यस्तो घटनाको तत्काल जानकारीसमेत नहुन सक्ने उनले उल्लेख गरे।

    भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शन, तोडफोड, आगजनी र सुरक्षाकर्मीको कारबाही हुँदा धेरैले ज्यान गुमाएका थिए। उक्त घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता उनले पटक–पटक आफू निर्दोष रहेको र घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। उनले झुटा प्रचार र आरोपको सामना गर्न सत्य तथ्य नागरिकसम्म पुर्‍याउनुपर्ने आवश्यकता पनि औंल्याए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar