सहिदको आमासँग आँसु र आशीर्वादको भेट, सहिदका सपना अधुरा रहन दिँदिन: उम्मेदवार ओमप्रकाश सर्राफ

  • कालिका खवर
  • मङ्लबार, माघ २०, २०८२
  • वीरगञ्ज — पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज वडा नम्बर–१८ इनर्वास्थित मधेस आन्दोलनका वीर सहिद धर्मराज सिंहकी आमासँग जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सर्राफको भेट भावुक क्षणमा परिणत भएको छ।

    सहिदको तस्वीरअघि शिर निहुराउँदै सर्राफले धर्मराज सिंहसहित मधेस आन्दोलनका सम्पूर्ण सहिदहरूको सपना साकार पार्न जीवनभर संघर्ष गर्ने कठोर संकल्प व्यक्त गरेका थिए। आशीर्वाद ग्रहणका क्रममा सहिदकी आमाले व्यक्त गरेको पीडा, आँसु र आशालाई सम्मानपूर्वक स्वीकार गर्दै उनले सहिदहरूको बलिदानीलाई कहिल्यै बिर्सन नदिने प्रतिबद्धता जनाए।

    “सहिदको रगतले लेखिएको इतिहासलाई मेट्न दिइने छैन। सहिदले देखेको अधिकार, पहिचान र सम्मानको सपना पूरा नभएसम्म मेरो संघर्ष रोकिने छैन,” सर्राफले भने।

    उनले मधेस आन्दोलन केवल सम्झनामा सीमित विषय नभई आज पनि जिउँदो मुद्दा रहेको उल्लेख गर्दै सहिदहरूको बलिदानीबाट प्राप्त उपलब्धि जोगाउन र आन्दोलनका एजेन्डा कार्यान्वयन गराउन आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।

    सहिदहरूको बलिदानीलाई सत्ता र स्वार्थको राजनीतिले ओझेल पार्न खोजिएको आरोप लगाउँदै उनले त्यसविरुद्ध जनताको बल र समर्थनका साथ लड्ने अठोट व्यक्त गरे। सहिद परिवारको पीडालाई राज्यले बिर्सनु अपराध भएको टिप्पणी गर्दै उनले सहिदको सम्मान भाषणमा मात्र नभई अधिकारको कार्यान्वयनमा देखिनुपर्नेमा जोड दिए।

    सर्राफले सहिदकी आमाबाट पाएको आशीर्वादलाई आफ्नो राजनीतिक तथा सामाजिक संघर्षको प्रेरणाका रूपमा लिएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar