पर्सा–१ का उम्मेदवार रामकिशोर सिंह (पराग)लाई परवानीपुर–२१ मा Gen Z युवाद्वारा भव्य स्वागत

  • कालिका खवर
  • शनिबार, माघ १७, २०८२
  • वीरगंज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)लाई परवानीपुर गाउँपालिका वडा नम्बर–२१ मा Gen Z युवाहरूले खादा–माला लगाई भव्य स्वागत तथा सम्मान गरेका छन्। स्वागत कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    भेटघाट तथा संवादका क्रममा उम्मेदवार सिंहले टोलवासीसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका निर्माणाधीन तथा अधुरा विकास आयोजना, युवाका लागि रोजगारी, शिक्षाको अवस्था र गाउँ–समाजको समग्र विकासबारे आफ्ना धारणा राख्नुभयो। उहाँले रोजगारी र शिक्षाका लागि युवाहरू सहर वा काठमाडौँ केन्द्रित हुनुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

    सिंहले गाउँमै बसेर रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र दिगो विकास सम्भव रहेको उल्लेख गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० मा निर्वाचित भएपछि गरेका विकास कार्य र अनुभव अब संघीय संसदसम्म पुर्‍याएर जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा सहभागी Gen Z युवाहरूले नयाँ सोच, इमानदार नेतृत्व र युवामैत्री नीतिका कारण उम्मेदवार सिंहप्रति आशा र विश्वास व्यक्त गरेका थिए। उज्यालो नेपाल पार्टीले यस्ता जनसम्पर्क, सम्मान तथा संवाद कार्यक्रमले संगठनलाई थप सशक्त बनाउँदै जनतासँगको सम्बन्ध अझ मजबुत हुँदै गएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar