पकहाँमैनपुरमा एमालेको पालिका स्तरीय भेला सम्पन्न, रूपेश पाण्डेको नेतृत्वमा परिवर्तनको संकल्प

  • कालिका खवर
  • शनिबार, माघ १७, २०८२
  • वीरगंज — पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गरी आयोजित कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज बिजय चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाशलगायत जिल्लास्तरका नेताहरूको समेत सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रको समग्र विकास नै आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे। उनले पकहाँमैनपुरसहित सम्पूर्ण क्षेत्रलाई आर्थिक रूपमा सबल, सामाजिक रूपमा समावेशी तथा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधारसहित समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।

    “पर्सा–३ अब पछाडि फर्कनु हुँदैन, यसको भविष्य समृद्धि, रोजगारी र सुशासनसँग जोडिएको छ,” भन्दै पाण्डेले जनताको भरोसालाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले युवाको ऊर्जा, किसानको पसिना र नागरिकको चाहनालाई नीतिगत रूपमा कार्यान्वयन गर्ने स्पष्ट भिजन प्रस्तुत गरे।

    भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेको नेतृत्वमा मात्र पर्सा–३ मा दिगो विकास सम्भव हुने विश्वास व्यक्त गर्दै रूपेश पाण्डेको उम्मेदवारीलाई परिवर्तनको ऐतिहासिक अवसरको रूपमा चित्रण गरे। भेलाले पकहाँमैनपुरमा एमालेप्रतिको उत्साह र जनसमर्थन थप सुदृढ हुँदै गएको सन्देश दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar