रास्वपा उम्मेदवार रामाकान्त चौरसियामाथि आचारसंहिता उल्लंघनको आरोप, घरदैलोमा बालबालिकाको प्रयोग

  • कालिका खवर
  • शनिबार, माघ १७, २०८२
  • वीरगंज  – पर्सा क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसियामाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप उठेको छ। चुनावी प्रचारप्रसारको क्रममा पोखरिया नगरपालिका–७ मा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गरिनुपर्ने माग गरेका छन्।

    स्थानीयका अनुसार, निर्वाचन आचारसंहिताले स्पष्ट रूपमा बालबालिकाको प्रयोग निषेध गरे पनि चौरसियाले भिडभाड देखाउन बालबालिकालाई प्रयोग गरेका छन्। पेशाले निर्माण व्यवसायी रहेका उनले पैसाको बलमा रास्वपाबाट टिकट पाएर चुनावी मैदानमा उत्रेको आरोपसमेत लाग्दै आएको छ।

    उनको स्थायी घर पर्सा–२ अन्तर्गत वीरगंज–१९ बर्वामा भए पनि उनी पर्सा–३ बाट उम्मेदवार भएका कारण विवाद बढेको छ। यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका उनका आफन्तले पर्सा–२ का कांग्रेस उम्मेदवार अजय चौरसियालाई असर गर्ने भएपछि उनले गृह क्षेत्र छोडेर पर्सा–३ रोजेको चर्चा भइरहेको छ।

    स्थानीयहरूका अनुसार पर्सा–३ मा चौरसियाको सामाजिक लगानी र योगदान सीमित रहेको र रास्वपाको संगठन कमजोर रहेको कारण आफूलाई बलियो उम्मेदवार देखाउन बालबालिकाको प्रयोग गरिएको देखिन्छ। यस प्रकारको कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै निर्वाचन आयोगले गम्भीर ध्यान दिनुपर्ने स्थानीयको माग छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar