हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • मुस्ताङ : भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।

    मङ्गलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अनुरोधमा मुक्तिनाथ स–जोमसोम–कोरला) सडक आयोजनाको स्काभेटर परिचालन गरिएको छ ।

    यसका अतिरिक्त मुक्तिनाथ सडकको हिउँ पन्छ्याएर सडक सञ्चालन गराउन प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतको संयुक्त सुरक्षा टोली परिचालित गरिएको थियो ।

    यसैगरी अवरुद्ध सडक खुलाउन गाउँपालिका उपाध्यक्ष डिकी गुरुङ र वडाध्यक्ष कर्माघ्याचो गुरुङ लगायतका स्थानीय जनप्रतिनिधि परिचालित भएका थिए ।

    भारी हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन जिल्ला सुरक्षा समितिको टोलीसहित स्थानीय जनप्रतिनिधि खटिएको र कोरला सडक आयोजनाको डोजर लगेर अवरुद्ध सडकको हिउँ पन्छ्याएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

    उनका अनुसार अवरुद्ध सडक खुलाइएको भए पनि कतिपय घाम नलाग्ने ओसिलो स्थानमा हिउँ ढुङ्गा जस्तै सारो हुने गरी जमेकाले दुई पांग्रे र भारी सवारीसाधनलाई मुक्तिनाथ उक्लिन समस्या रहेको छ ।

    जिल्ला प्रहरी कार्यालयले बिहानको समयमा तत्कालका लागि मुक्तिनाथ आवतजावत गर्न सवारीसाधनलाई समस्या हुने भएकाले बिहान ११ बजेपछि मात्रै सवारीसाधन लैजान अनुरोध गरेको छ ।

    भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुस्ताङको कागबेनीमा रोकिएका सवारीसाधन गन्तव्यमा प्रस्थान गरेका छन् । पुनः हिमपात नभएमा केही दिनमा मुक्तिनाथ सडक थप सहज हुने वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar