पर्सा–१ मा फागुन २१ नजिकिँदै, प्रमुख दलबीच रोचक चुनावी भिडन्त

  • कालिका खवर
  • बुधबार, माघ १४, २०८२
  • वीरगञ्ज  – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बनेको छ। यस क्षेत्रमा प्रमुख तथा साना गरी एक दर्जनभन्दा बढी राजनीतिक दलका उम्मेदवार मैदानमा उत्रिएका छन्, जसका कारण निर्वाचन थप रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ।

    यस निर्वाचन क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र–एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, उज्यालो नेपाल पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दलका उम्मेदवारहरू मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

    नेकपा एमालेले यस क्षेत्रबाट पूर्व मन्त्री तथा निर्वतमान प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई पुनः उम्मेदवार बनाएको छ। यादव मनोनयन दर्ताको एक दिनअघि मात्र जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए। उनी अघिल्लो निर्वाचनमा एमाले–जसपा गठबन्धनको तर्फबाट विजयी भएका थिए। एमालेले विकास, स्थायित्व र अनुभवलाई मुख्य एजेन्डा बनाउँदै चुनावी प्रचार गरिरहेको छ।

    नेपाली कांग्रेसले संविधानसभा सदस्य तथा उद्योगपति अनिल रुंगटालाई उम्मेदवार बनाएको छ। रुंगटा यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी हालका एमाले उम्मेदवार प्रदीप यादवसँग पराजित भएका थिए। यसपटक कांग्रेसले आर्थिक विकास, निजी क्षेत्रको भूमिका र लोकतान्त्रिक मूल्यलाई जोड दिँदै प्रचार अभियान अघि बढाएको छ।

    प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियालाई उम्मेदवार बनाएको छ। पार्टीले वैकल्पिक आर्थिक दृष्टिकोण र सुशासनलाई प्राथमिक एजेन्डा बनाएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति तथा होटल व्यवसायी हरि पन्तलाई उम्मेदवार बनाउँदै नयाँ राजनीतिक संस्कार र परिणाममुखी नेतृत्वको नारासहित चुनावी मैदानमा होमिएको छ।

    त्यस्तै, जनता समाजवादी पार्टी नेपालले जिल्ला अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार बनाएको छ। मधेसकेन्द्रित मुद्दा, अधिकार र पहिचानलाई जोड दिँदै जसपाले आफ्नो परम्परागत मताधार जोगाउने प्रयास गरिरहेको छ।

    कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० का निर्वतमान वडाध्यक्ष रामकिशोर सिंह (पराग)लाई उम्मेदवार बनाएको छ। सिंहले ग्रामीण भेग केन्द्रित विकास, पारदर्शी शासन र जेन–जी आन्दोलनका मुद्दालाई मुख्य एजेन्डा बनाएका छन्। जनमत पार्टीले जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले नन्दु श्रीवास्तवलाई चुनावी मैदानमा उतारेको छ।

    यसका अतिरिक्त प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट विश्वराज पटेल, हर्क साम्पाङ नेतृत्वको श्रम सांस्कृतिक पार्टीबाट वसिम शेष तथा पिपुल फस्ट पार्टीबाट जावेद एकवाल हैदर पनि उम्मेदवार बनेका छन्। धेरै उम्मेदवार मैदानमा हुँदा मत विभाजनको सम्भावना बढेको विश्लेषकहरू बताउँछन्।

    अघिल्लो निर्वाचनमा पर्सा–१ बाट एमाले–जसपा गठबन्धनका तर्फबाट प्रदीप यादव विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा थिए। यसपटक भने गठबन्धन नरहेकाले प्रमुख दलहरू अलग–अलग रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्, जसले चुनावी समीकरण थप जटिल बनाएको छ।

    स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–१ को निर्वाचन परिणाम दलहरूको संगठन क्षमता, उम्मेदवारको व्यक्तिगत प्रभाव, मतदातासँगको प्रत्यक्ष सम्पर्क र पछिल्लो समय बढ्दै गएको परिवर्तनको चाहनाले निर्धारण गर्नेछ। फागुन २१ नजिकिँदै जाँदा चुनावी गतिविधि अझ तीव्र बन्दै जाने देखिन्छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar