रास्वपाद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ। उक्त भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक तथा चुनावी रणनीति र क्षेत्रका विविध जनसमस्याका विषयमा व्यापक छलफल गरिएको पार्टी स्रोतले जनाएको छ।

    भेलामा सहभागी अगुवा नेता तथा कार्यकर्ताहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासलाई पार्टीको मूल एजेन्डा बनाउँदै नागरिकको आवाज सशक्त रूपमा संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। वक्ताहरूले परम्परागत राजनीति नागरिकमैत्री हुन नसकेको टिप्पणी गर्दै अब नयाँ सोच र कार्यशैली अपरिहार्य रहेको धारणा राखे।

    कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई अझ प्रभावकारी बनाउने, जनसम्पर्क विस्तार गर्ने, नयाँ कार्यकर्तालाई सक्रिय रूपमा समेट्ने तथा पुराना कार्यकर्तासँग समन्वय मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै पार्टीको नीति, सिद्धान्त र कार्यदिशाबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा जनतामाझ पुग्ने रणनीतिबारे समेत छलफल गरिएको थियो।

    भेलामा पर्सा–२ क्षेत्रका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले नीतिगत, जवाफदेही र परिणाममुखी राजनीति आजको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सोही दिशामा अघि बढिरहेको बताए।

    त्यसैगरी, आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार सुशील कुमार कानुलाई विजय गराउने रणनीतिबारे पनि गम्भीर छलफल गरिएको जनाइएको छ। निर्वाचनमा पार्टीको पकड मजबुत बनाउने, घरदैलो अभियानलाई प्रभावकारी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने विषयमा कार्ययोजना तयार गरिएको बताइएको छ।

    भेलाको अवसरमा नयाँ तथा पुराना कार्यकर्ताबीच आपसी परिचय र समन्वय विस्तार हुनुका साथै संगठनात्मक एकता थप मजबुत भएको सहभागीहरूले बताएका छन्। पार्टीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै स्थानीय स्तरमै नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनआधारित राजनीति अघि बढाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar