सुदूरपश्चिमका योजनालाई टुरिस्ट उम्मेदवारले संसदमा कुरा समेत उठाउँदैनन् : उपमहासचिव भट्ट

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भएमा सुदूरपश्चिममा रहेका पुराना योजनालाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा भएका कैलाली क्षेत्र नम्बर ४ का जेनजी युवालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमका अधुरा ठूला योजना पूरा गर्न आफूलाई जिताउनु पर्ने बताएका हुन्।  उपमहासचिव भट्टले टुरिस्ट उम्मेदवार निर्वाचित भए संसदमा कुरा समेत नउठाउने भएकाले आफूलाई जिताउन जेनजी युवाहरू लाग्नुपर्ने बताए।

    उनले भने,’मैले सेती लोकमार्ग, महाकाली लोकमार्ग, खुटिया दिपायल द्रुतमार्ग, सुदूरपश्चिम विश्वविद्यालयको निर्णय गराएको हो। म धेरै चर्चा नगर्ने भएकाले यसले के गरेको होला भनेर चर्चा भइरहेको छ। त्यसपछि बयलपाटा अस्पताल अछाममा बनाउने निर्णय गराए।  म वाणिज्य आपूर्तिमन्त्री भएपछि सुख्खा बन्दरगाह दोधार चाँदनीमा बनाउने निर्णय गराए, आज बन्दै छ।

    मैरै पहलमा धनगढी–अत्तरिया औद्योगिक कोरिडोरको डीपीआर भइसकेको छ। गेटा मेडिकल कलेजको जग बसाउने, निर्णय गराउने अन्तिमसम्म विश्वविद्यालय नहुन्जेल नछोड्ने भन्ने म हो। यस्तै हरैया विशेष आर्थिक क्षेत्र, दैजी औद्योगिक क्षेत्र शिलान्यास गराइएको छ। मुडेधारी औद्योगिक क्षेत्र अगाडि बढाउनेछौँ।’

    उपमहासचिव भट्टले जेनजीलाई सबैभन्दा बढी एमालेले समेटेको समेत बताए। उनले भने, ‘युवा विचारले हुन्छ। उमेरले युवा हुने विषय एउटा भयो। तर वैचारिक रूपमा वृद्ध जस्तो हुनुभयो भने युवापनले काम गर्दैन। चिन्तन, सोच नै युवा हो। तपाईसँग भएको ज्ञान मैले समात्न सक्छु, त्यसैले म पनि युवा भएँ। अहिलेको गतिलाई समात्न सक्नु भएन भने तपाई पनि युवा होइन।’

    उपमहासचिव भट्टले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धबारे युवालाई  बुझाउन नसकेको पनि बताए। उनले भने, ‘त्यो प्रतिबन्ध थिएन। नेपालको ऐन, कानुनभित्र आउनुपर्‍यो भनिएको हो। करको दायरभित्र आउनु पर्‍यो भनेर भनेको मात्रै थियो।’ उपमहासचिव भट्टले युवाहरूले राखेका माग सही रहेको भन्दै  त्यही काम पार्टीले पनि गरिरहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar