सुरज सिलवाल लोकप्रिय मतसहित सचिवमा विजयी

  • कालिका खवर
  • मङ्लबार, पुस २९, २०८२
  • काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सचिव पदमा सुरज सिलवाल लोकप्रिय मतसहित विजयी भएका छन्। सोमबार काठमाडौँको एलिस रिसेप्सनमा सम्पन्न निर्वाचनमा सिलवालले सर्वाधिक ४१६ मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित भएका हुन्। सोही निर्वाचनबाट लक्ष्मण पौडेल (एन्ड्रीयू) अध्यक्ष तथा भवनाथ हुमागाई महासचिवमा निर्वाचित भएका छन्।

    अध्यक्ष पदमा लक्ष्मण पौडेलले ३४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। इक्यानको नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू) र महासचिव दीपकराज भूषालबीच कडा प्रतिस्पर्धा भएको थियो। महासचिव पदका लागि दुई जनाको उम्मेदवारी परेकोमा भुषाल प्यानलबाट भवनाथ हुमागाई र पौडेल प्यानलबाट जीआइइसीका सञ्चालक नवराज केसी खत्री उम्मेदवार थिए।

    यस्तै, उपाध्यक्ष पदमा विकल्पराज पोखरेल, बासुदेव दाहाल र गिता सिवाकोटी विजयी भएका छन्। सचिव पदमा सुरज सिलवालसँगै आशिक कार्की पनि निर्वाचित भएका छन्। सचिव पदका लागि चार जनाको उम्मेदवारी परेको थियो, जसमा पौडेल प्यानलबाट भुपाल केसी र एलबी तामाङ प्रतिस्पर्धामा थिए।

    कोषाध्यक्ष पदमा साधना पुडासैनी विजयी भएकी छन्। उक्त पदका लागि भुषाल प्यानलबाट उमा खड्का र पौडेल प्यानलबाट साधना पुडासैनी उम्मेदवार थिए। सह–कोषाध्यक्ष पदका लागि भुषाल प्यानलबाट गोविन्द खनाल र पौडेल प्यानलबाट भिमबहादुर थापा उम्मेदवार बनेका थिए।

    नौ जना सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेकोमा अशोक कुमार हाथी, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, उद्धव वन, कमलप्रसाद तिमल्सिना, बसन्त पाण्डे, दिनेश पौडेल र शिवप्रसाद अर्याल विजयी भएका छन्।
    इक्यानको २० औँ साधारण सभा तथा महाधिवेशनबाट अध्यक्षसहित १८ पदका लागि निर्वाचन भएको थियो, जसमा ३४ जनाले उम्मेदवारी दिएका थिए। अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुई वर्षे कार्यकाल समाप्त भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको हो। निर्वाचनमा दुई वटा प्यानल बनाएर उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका थिए।

    इक्यानमा नेपाली कांग्रेस निकट व्यवसायीहरूको तर्फबाट साझा अध्यक्ष उम्मेदवारका रूपमा लक्ष्मण पौडेल र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायीहरूको साझा उम्मेदवारका रूपमा दीपकराज भूषाल मैदानमा उत्रिएका थिए। नेकपा एमाले निकट व्यवसायीहरूको संगठन प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) ले अध्यक्ष पदमा उम्मेदवारी नदिए पनि भुषाल प्यानलबाट उपाध्यक्ष, सचिव र तीन जना सदस्यसहित उम्मेदवारी दिएको थियो।

    २१ सदस्यीय कार्यसमिति रहने इक्यानमा दुई जना सदस्य मनोनित गर्ने प्रावधान छ। सात सयभन्दा बढी व्यवसायी आवद्ध रहेको इक्यानमा करिब ६ सय जनाले मतदान गरेका थिए। इक्यानका देशभर आठ वटा शाखा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar