सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत दिन माग

  • कालिका खवर
  • बुधबार, पुस २, २०८२
  • सर्लाही । सर्लाहीको गोडैता नगरपालिका– ४, रोहुवास्थित उखुबालीमा भएको भीषण आगलागीबाट पीडित किसानलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

    आगलागीबाट ठूलो क्षति भएपछि सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा स्थानीय किसानले नेपाल सरकार र मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

    काठमाडौंमा बसोबास गर्दै आएका सर्लाहीका सामाजिक अभियन्ता नितेश राउतले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै आगलागीबाट पीडित किसानलाई तुरुन्त राहत दिन माग गरेका हुन् ।

    ज्ञापनपत्रमा पीडित किसानलाई आर्थिक सहायता उपलब्ध गराउनुपर्ने, बीउ, मल तथा कृषि उपकरणसहित आपतकालीन कृषि प्याकेज प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाई आगलागी जोखिम न्यूनीकरण तथा सुरक्षित कृषि अभ्यासबारे सहयोग गर्न पनि माग गरिएको छ ।

    गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले पनि आगलागीबाट प्रभावित किसानको अवस्था गम्भीर रहेको भन्दै संघ तथा प्रदेश सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् । उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन खेतबारी तथा बाटो आसपास ज्वलनशील वस्तु नराख्न नगरवासीलाई आग्रह गरेका छन् ।

    सोमबार दिउँसो गोडैता नगरपालिका–४, रोहुवामा उखुबारीमा भीषण आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगो स्थानीय किसान मुना चौधरीको उखु खेतबाट सुरु भएको थियो र प्रारम्भिक रूपमा विद्युतीय तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

    आगलागीबाट करिब ५० देखि ६० बिघासम्म फैलिएको उखु बाली जलेर नष्ट भएको छ । नगरपालिकाको प्रारम्भिक अनुमान अनुसार करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

    यस्तै, बुझाइएको ज्ञापनपत्रमा करिब १५० जना किसानले संयुक्त रूपमा दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी बेहोरेको उल्लेख छ । आगलागीबाट भएको वास्तविक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar