परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

  • कालिका खवर
  • शनिबार, मंसिर २७, २०८२
  • काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेकी छन्।

    उनले महाधिवेशन स्वस्थ, प्रतिस्पर्धी र योग्य तथा सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गरेकी छन्। उनले प्रतिनिधिहरूलाई राजनीतिक रूपमा परिपक्व र आ-आफ्ना क्षेत्रका जिम्मेवार नेता भएको स्मरण गराउँदै देशको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे राम्ररी अवगत रहेको विश्वास व्यक्त गरेकी छन्।

    पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा चित्रण गर्दै भनेकी छन्, ‘यो महाधिवेशन जनताको बहुदलीय जनवाद (जबज)का आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउन सक्षम हुनेछ।’ उनले यस्तो वातावरणले योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न मद्दत पुग्ने दृढ विश्वास व्यक्त गरेकी छन्।

    मुलुक अहिले तरल राजनीतिक अवस्था बाट गुज्रिरहेको सन्दर्भमा, उनले प्राप्त उपलब्धिको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न पार्टीलाई एकताबद्ध भएर अघि बढ्न पनि  आह्वान गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar