ढिँडोदेखि मार्सी चामलसम्म: रैथाने खानाप्रति नेपालीको ‘रुचि’ किन बढ्दै गयो?

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • काठमाडौं । एक समय यस्तो थियो– मानिस कोदोको ढिँडो खाएको कुरा लुकाउँथे । ढिँडो गरिबको खाना, भात धनीको पहिचान भन्ने गलत मानसिकताले गाउँघरदेखि सहरसम्म प्रभाव जमाएको थियो । कतिपयले त घरमा ढिँडो खाएर बाहिर कुकुरलाई दूधभात दिने गर्थे— आफ्नो सामाजिक हैसियत जोगाउन ।

    तर समय बद्लियो । अब भने ढिँडो, कोदो, फापरजस्ता रैथाने परिकार केवल परम्परागत खाना मात्र होइन, स्वास्थ्यप्रद ‘ट्रेन्डी’ विकल्पका रूपमा स्थापित भइरहेका छन् । सहरका ठूला–ठूला होटलदेखि ग्रामीण भान्सासम्म ढिँडो, फापर र अर्गानिक चामल खोज्नेको भीड बढेको छ ।

    रैथाने खानातर्फ बढ्दो आकर्षण

    चिकित्सकहरूले कार्बाेहाइड्रेट धेरै हुने भात कम खान सुझाव दिन थालेसँगै मानिसको रोजाइ रैथाने अन्नतर्फ मोडिएको छ । खाद्य तथा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीका अनुसार हाल कोदो, फापर, गुद्रुक, मकै तथा च्याख्ला थालमा परिकारको माग तीव्र रूपमा बढेको छ ।

    “पहिले कोदो खाएँ भन्न लाज मानिन्थ्यो, अहिले पाँचतारे होटलमै ढिँडो र फापरको रोटी मेनुमा छ,” डा. उप्रेती भन्छिन् । उनका अनुसार बजारमा विषादीयुक्त उत्पादनको डर र स्वास्थ्यप्रतिको चेतनाले मानिसलाई अर्गानिक रैथाने खानातर्फ आकर्षित गरेको हो।

    मार्सी चामलले कसरी पायो ‘ब्रान्ड’ रूप?

    झापा निवासी व्यवसायी दुर्गा प्रसाईंले मार्सी चामलको भात पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र ‘प्रचण्ड’लाई खुवाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मार्सी चामल चर्चामा आयो ।

    उही लोकप्रियताका आधारमा अहिले झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ, जहाँ हिमाली क्षेत्रमा उत्पादित मार्सी धानलाई ब्रान्ड बनाएर स्थानीय स्वाद प्रस्तुत गरिन्छ । गुन्द्रुक, कालिज, बन्धिया कुखुरा, च्याङ्ग्राको सुकुटीदेखि लोकल कुखुरासम्मका परिकार यहाँका मुख्य आकर्षण हुन् ।

    होटल व्यवसायीको अनुभव

    लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठ भन्छन्— “पहिले मानिस होटलमा भात खान आउँथे, अहिले त्यसको साटो ढिँडो, रैथाने चामल, फापर, लोकल कुखुरा खोज्छन् ।”

    उनले स्थानीय किसानसँग मिलेर जुम्ली मार्सी, मुस्ताङ आलु, जुम्लाको सिमी, कालो मास, काँठका साग–सब्जीको साप्ताहिक अर्गानिक बजार चलाउन थालेका छन्, जसले ग्राहकहरूलाई अत्यधिक आकर्षित गरिरहेको छ ।

    सहरभन्दा काँठतिरका रिसोर्टमा रैथाने खानाको लोकप्रियता

    सेफ्स एशोसियसन नेपालका पूर्वअध्यक्ष तथा सेफ गोविन्दनरसिंह केसीका अनुसार अहिले होटल–रेस्टुरेन्टमा अर्गानिक र रैथाने खानाको माग तीव्र बढेको छ ।

    “पहिले आधुनिक परिकार नै खोजिन्थ्यो, अहिले भने स्वास्थ्यका कारणले लोकल उत्पादन रोजिन्छ,” केसी भन्छन् ।

    डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्ल भन्छन्— “काठमाडौँबाट आउने पाहुनाले ढिँडो, गुद्रुक, फापर, सिस्नु, लोकल कुखुराको झोल माग्छन् । नेपाली टिपिकल खाना अहिले मुख्य आकर्षण बनेको छ ।”

    पर्यटकीय नगरमा रैथाने खानाको क्रेज

    काठमाडौँ मात्र होइन, पोखरा र चितवनका थकाली हाउस र रैथाने खानाका रेस्टुरेन्टहरूमा पनि स्थानीय स्वादकै भीड छ—

    • पोखराको ‘एयरपोर्ट थकाली’

    • चिप्लेढुङ्गाको ‘मन्त्र थकाली’

    • फेवातालतिरको ‘मोनालिसा थकाली’

    • नौडाँडाको ‘भण्डारी भान्सा घर’

    • चितवनको ‘पाते ढिँडो थकाली’ र ‘बाजेको माछा महल’

    यी स्थानहरूमा पर्यटकदेखि स्थानीयसम्म सबैले ढिँडो, फापर, च्याङ्ग्रा, गुन्द्रुक, लोकल कुखुरा जस्ता परिकार चाख्न भ्याइ–नभ्याई गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar