माउन्टेन इनर्जी नेपालको पहिलो त्रैमासमा खुद नाफा ३८.६७ प्रतिशतले बढ्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले वृद्धि भएको छ।

    पहिलो त्रैमासमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ रहेको थियो।

    यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.७० प्रतिशत बढी हो। अघिल्लो वर्ष विद्युत बिक्री आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपैयाँ रहेको थियो।

    कम्पनीले यस अवधिमा बीमा दाबीबाट ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। संचालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ भने करअघिको नाफा ४३ करोड ४७ लाख रहेको छ।

    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। रिटेन अर्निङ १ अर्ब ७६ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रहेको थियो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजीमा वृद्धि भएको हो। यस वर्ष कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १३.४९ रुपैयाँबाट बढेर १६.२७ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १६७.७८ रुपैयाँ रहेको छ।

    माउन्टेन इनर्जी नेपालले हाल ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादी खोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar