लक्ष्मी सनराइज बैंकको नाफा ३८ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। बैंकले तीन महिनामा ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

    बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार, गत आवको सोही अवधिमा बैंकले ५३ करोड ६३ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यस आधारमा बैंकको नाफा ३८.०४ प्रतिशतले घटेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने सामान्य वृद्धि भएको देखिन्छ। बैंकको यस्तो आम्दानी १.५९ प्रतिशतले बढेर २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यो रकम २ अर्ब ६७ करोड २७ लाख रुपैयाँ थियो।

    तर, बैंकको सञ्चालन नाफा भने उल्लेख्य रूपमा घटेको छ। गत वर्षको पहिलो त्रैमासमा रहेको ७५ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन नाफा घटेर यस वर्षको सोही अवधिमा ४३ करोड ८१ लाख ७२ हजार रुपैयाँमा झरेको हो, जुन ४२.११ प्रतिशतको गिरावट हो।

    हाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ र जगेडा कोष २० अर्ब ६ करोड ८६ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा (NPL) ५.४२ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा कायम भएको छ।

    बैंकको निक्षेप सङ्कलन २.१७ प्रतिशतले बढेर ३ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह पनि २.६७ प्रतिशतले बढेर २ खर्ब ८२ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar