बिवाइडीले एक करोड ४० लाख गाडी उत्पादनको सफलता मनायो, ब्राजिलका राष्ट्रपति लुलालाई ‘सङ प्रो’ कार हस्तान्तरण

  • कालिका खवर
  • आइतवार, कार्तिक २, २०८२
  • काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बिवाइडी (BYD) ले आफ्नो एक करोड ४० लाखौं गाडी उत्पादन गरेको उपलक्ष्यमा ब्राजिलको बाहिया राज्यको कामाकारी शहरस्थित सवारी उत्पादन केन्द्रमा विशेष समारोहको आयोजना गरेको छ ।

    उक्त अवसरमा उत्पादन गरिएको ‘सङ प्रो’ नामक प्लग–इन हाइब्रिड बिवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई विशेष रूपमा हस्तान्तरण गरिएको थियो ।

    बिवाइडीका अनुसार, यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्रामा एक ऐतिहासिक माइलस्टोन हो । कामाकारीस्थित कारखाना एशियाबाहिरको बिवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो । दक्षिण चाइना मर्निङ पोस्टका अनुसार, उक्त परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ ।

    समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, राज्य तथा स्थानीय अधिकारीहरू, साथै बिवाइडीका अध्यक्ष वाङ छुआनफु लगायतका विशिष्ट अतिथिहरूको उपस्थित थियो ।

    कार्यक्रममा राष्ट्रपति लुलाले भने, “चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ, र हामी एकअर्कालाई ग्लोबल साउथका महत्त्वपूर्ण मुलुकका रूपमा हेर्छौं। ब्राजिलले अन्तर्राष्ट्रिय सम्बन्धमा सम्मान र निष्पक्ष व्यवहार चाहन्छ, र चीनसँगजस्तै अन्य देशहरूसँग पनि समान साझेदारी निर्माण गर्न चाहन्छ,” उनले जोड दिए ।

    त्यसैगरी, बिवाइडीका अध्यक्ष वाङ छुआनफुले भने, “हामी ब्राजिलमा ११ वर्षदेखि सक्रिय छौं। आज यहाँ बिवाइडीका विद्युतीय बसहरू सामान्य देखिन्छन् । ब्राजिलमा हाम्रा १ लाख ७० हजारभन्दा बढी ग्राहक छन् र दुई वर्षदेखि हामी बाजारका अग्रणी विक्रेता रहेका छौं,” उनले भने ।

    बिवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्यायका रूपमा लिएको छ । कम्पनीले आगामी दिनहरूमा स्थानीय उत्पादन संयन्त्र सुदृढ गर्दै अन्तर्राष्ट्रिय विस्तार, नवप्रवर्तन (innovation), विद्युतीकरण (electrification) र दिगोपन (sustainability) का दिशामा सवारी उद्योगको रूपान्तरणलाई अझ गति दिने घोषणा गरेको छ ।

    हालसम्म बिवाइडीका छ वटा विदेशी कारखाना सञ्चालनमा छन् — ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा । ब्राजिलमा मात्रै कम्पनीले तीन वर्षभित्र १ लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ । सेप्टेम्बर २०२५ मा मात्र १० हजारभन्दा बढी सवारी बिक्री भएको र जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बिवाइडीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar