ओलीलाई नेतृत्व छाड्न योगेश भट्टराईको सुझाव

  • कालिका खवर
  • शुक्रबार, अशोज ३१, २०८२
  • काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् । पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा ‘आजको सङ्कट र पार्टी पुनर्गठन’ विषयमा आफ्नो धारणा राख्दै भट्टराईले अध्यक्ष ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

    उनले राखेको प्रस्तावमा भनेका छन्,‘पार्टी पुनर्गठनको महत्त्वपूर्ण आयाम नेतृत्वको हस्तान्तरण हो ।’ उनले विधान महाधिवेशन मार्फत वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको ११ औँ महाधिवेशनबाट पुनः अध्यक्ष हुने गरी मनोवैज्ञानिक सन्देश प्रवाह गरे पनि मुलुकमा उत्पन्न अकल्पनीय र असाधारण परिस्थिति, आम जनताको अपेक्षा लगायतका कुरालाई मनन गर्दै अब ती मनोविज्ञान माथि पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

    ‘यसका लागि वर्तमान पार्टी अध्यक्ष कमरेडले सहजतापूर्वक नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नु उपयुक्त हुन्छ’,भट्टराईले भनेका छन्, ‘यसका दुई वटा बाटाहरू छन् ।’ त्यसमध्ये पहिलो तत्कालै पार्टीका वरिष्ठतम् नेतालाई कार्यवाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने र उक्त नेतृत्वको वरिपरि पार्टीलाई गोलबन्द र एकताबद्ध गर्नुपर्ने भट्टराईको विकल्प छ ।

    त्यसैगरी दोस्रो विकल्पमा पार्टी अध्यक्षको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने । ‘अध्यक्ष कमरेडले महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने । यसमध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मलाई छोड्दिने’, भट्टराईले बैठकमा राखेको लिखित धारणामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar