विद्या सदन विद्यालयमा नेपाल स्काउटद्वारा ग्यास सुरक्षा तथा विपद् व्यवस्थापन प्रशिक्षण सम्पन्न

  • कालिका खवर
  • बिहिबार, अशोज ३०, २०८२
  • वीरगंज  — विद्या सदन माध्यमिक विद्यालय, मुर्ली, वीरगंज–१२ मा आज “जीवन कौशल पाठ्यक्रम” अन्तर्गत असोज महिनाको विषय “सुरक्षा र सचेतना” को सिलसिलामा नेपाल स्काउट पर्साका विज्ञ प्रशिक्षक श्री भूप नारायण पटेल र श्री उमेश कुमार गुप्ताद्वारा ग्यास सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक तथा प्रेरणादायी प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो।

    विद्यालयको मैदानमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई ग्यास सुरक्षा, आपतकालीन अवस्थाहरूमा तुरुन्त प्रतिक्रिया जनाउने तरिका, र फायर एक्स्टिङ्गुशरको सही प्रयोगबारे प्रत्यक्ष अभ्यास गराइयो। प्रशिक्षकहरूले सिलिन्डर चुहावट भएमा के गर्ने, कसरी सुरक्षित ढंगले बन्द गर्ने, र आगलागी नियन्त्रणका घरेलु उपायहरू जस्तै बोरा, ओसिलो कपडा, कुचो आदि प्रयोग गर्ने तरिकाहरू पनि सिकाए।

    विद्यार्थीहरूले उत्साहपूर्वक सहभागी भई व्यवहारिक अभ्यासमा संलग्न भए। प्रशिक्षकद्वयले दुर्घटनाबाट जोगिनका लागि सधैं सजग, सतर्क र जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

    विद्यालयका प्रधानाध्यापक–संचालक श्री लाल बहादुर गुरुङ्गले धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “आजको प्रशिक्षणले विद्यार्थीहरूमा जीवन उपयोगी सीप, आत्मविश्वास र जिम्मेवारीबोध विकास गरेको छ। यस्ता कार्यक्रमहरूले शिक्षणभन्दा पनि सिकाइलाई केन्द्रमा राख्ने हाम्रो दृष्टिकोणलाई बल दिएको छ।”

    विद्यालय परिवारले नेपाल स्काउट पर्साप्रति विशेष धन्यवाद व्यक्त गर्दै यस्ता व्यवहारिक र जीवन–सुरक्षा केन्द्रित कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar