बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैनः अध्यक्ष दाहाल

  • कालिका खवर
  • सोमवार, भदौ २३, २०८२
  • गोरखा, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत् आयोजना निर्माणको काम नरोकिने बताउनुभएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरगत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले भन्नुभयो, “स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म झण्डै रु ५० अर्ब जति खर्च भइसकेको छ ।”

    आफू प्रधानमन्त्री रहेका बेला बुढीगण्डकी आयोजना निर्माणका लागि वालुवाटारमा पटकपटक बहस र छलफल गरेको स्मरण गर्नुहुँदै अध्यक्ष दाहालले उक्त आयोजना निर्माणले गोरखाको मात्र नभएर सिङ्गो राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताउनुभयो । “चीनको एउटा टोलीले नेपाल आएर अध्ययनको काम समेत गरिसकेको छ,” उहाँले भन्नुभयो, “पालुङटारमा नै कृषि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ ।” एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा जनतामा निरासा बढेको अध्यक्ष दाहालको आरोप थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar