नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरमा सुरु, पार्टी अध्यक्ष केपी ओलीले गर्नुभयो उद्घाटन 

  • कालिका खवर
  • शुक्रबार, भदौ २०, २०८२
  • काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ ।

    तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  विशेष समारोह बिच गर्नुभयो ।

    महाधिवेशनमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय समिति सदस्यहरू, प्रदेश र जिल्ला प्रतिनिधिहरू सहभागी रहेका छन् । दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहेका छन् ।

    अधिवेशनमा विधान संशोधन र पार्टी संरचना सम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने छन् ।   ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ महाधिवेशन सुरु भएको हो । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पेस हुने छन्।

    आजै उद्घाटन कार्यक्रम पछि प्रतिवेदन पेस हुने छन् ।  शनिबार प्रतिवेदनहरू माथि १० वटा समूहमा छलफल हुने र पर्सी समूहले पेश गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ।

    अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्नेछ।

    राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप (मार्गचित्र) प्रस्तुत गरेको छ। निर्णायक राष्ट्रिय शक्तिका रूपमा पार्टी निर्माणलाई कामको केन्द्रबिन्दु बनाउन निर्देशित गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar