एमालेको विधान महाधिवेशन आजबाट, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

  • कालिका खवर
  • शुक्रबार, भदौ २०, २०८२
  • काठमाडौं ।   नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। ३ दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुनेछ। एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ।

    विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पेस हुने छन्। दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहन  एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ। राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ।’

    विधान महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ। पोखरेलका अनुसार महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरू बिहीबार नै काठमाडौं आइपुगिसकेका छन्। स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ। प्रतिनिधि परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन्। त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन्। प्रतिनिधिहरू चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। महाधिवेशनस्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ।

    महाधिवेशन स्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ। हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा ९एमाले० र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ।

    महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्विर छन्। यसैगरी कार्लमार्क्स,फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्विरहरु राखिएका छन्।

    करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन बिहीबारको सचिवालय बैठकले पास गरेको छ। अध्यक्ष ओलीको प्रतिवेदनपछि एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ। त्यसपछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ। साँझ पाँच बजे आजका कार्यसूची सकिने गौतमले बताउनुभयो । शनिबार प्रतिवेदनहरु माथि १० वटा समूहमा छलफल हुने र पर्सी समूहले पेश गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ। ध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रियरअन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्नेछ।

    राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप ९मार्गचित्र० प्रस्तुत गरेको छ। निर्णायक राष्ट्रिय शक्तिका रूपमा पार्टी निर्माणलाई कामको केन्द्रबिन्दु बनाउन निर्देशित गरेको छ।

    यस्तै उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधन सम्बन्धी प्रस्तावमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विषय थप गरिएको छ। पार्टीमा दुईखाले पार्टी सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको छ। महासचिव पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपायहरू, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ।
    एमालेको विधान २०४९ ्(दशौँ राष्ट्रिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ। उक्त धारामा विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनकाबीचमा विधान महाधिवेशन आयोजना गर्ने उल्लेख गरिएको छ।

    केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फाँट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन, जनसाँस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा सांस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar