ललितपुरमा उपसचिव शेरबहादुर बिसीलाई एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड

  • कालिका खवर
  • सोमवार, भदौ १६, २०८२
  • ललितपुर । नेपाल सरकारका उपसचिव शेरबहादुर बिसी सोमबार ललितपुरमा आयोजित एक भव्य समारोहमा सम्मानित भएका छन्। बिसीलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट ६औं संस्करण एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२५ प्रदान गरिएको हो।

    सिजन मिडिया प्रालिको आयोजनामा पुल्चोकस्थित द प्लाजामा सम्पन्न उक्त कार्यक्रममा एशियाभर उत्कृष्ट योगदान पुर्‍याउँदै समाजमा प्रेरणादायी भूमिका खेल्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो। नेपाल, भारतसहित विभिन्न मुलुकका प्रतिष्ठित पाहुनाको उपस्थितिमा बिसीसहित थुप्रै व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो।

    उपसचिव बिसीलाई विशेष कदरका साथ सम्मान गरिएको हो। विशेषगरी उनले टोखा नगरपालिकामा २९ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दा १४ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण, आन्तरिक श्रोत वृद्धि, सूचना प्रविधिमैत्री सेवा प्रवाह, बिष्णुमति नदी सरसफाइ अभियान लगायतका उल्लेखनीय कार्य गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री दाहालले समाजमा असाधारण उपलब्धि हासिल गर्ने व्यक्तित्वहरू देश र पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताउँदै सबैलाई अझ इमानदार र सकारात्मक भूमिकामा लाग्न आग्रह गरे।

    सम्मानित उपसचिव बिसीले अवार्डलाई व्यक्तिगत भन्दा पनि सम्पूर्ण सरकारी सेवाप्रति जनताको विश्वासको प्रतीकका रूपमा लिएको बताए। उनले भने, “यो अवार्ड केवल मेरो व्यक्तिगत सम्मान मात्र होइन, सरकारी सेवामा समर्पित सबै इमानदार कर्मचारीहरूको मिहिनत र प्रतिबद्धताको कदर हो। यसले मलाई अझ जिम्मेवार र समाज सेवामा समर्पित भएर काम गर्न प्रेरणा दिएको छ।”

    सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले एशियन प्रोफेसनल एचिभमेन्ट अवार्डले एशियाका उत्कृष्ट प्रतिभा र नेतृत्वलाई उजागर गर्ने र उनीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्य रहेको बताए। उनले अवार्डलाई अझ प्रभावकारी बनाउन संस्थाले आगामी वर्षहरूमा नयाँ योजना अघि सार्ने जानकारी पनि दिए।

    कार्यक्रममा उच्च सरकारी अधिकारी, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, सामाजिक अभियन्ता लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar