१५ वर्षको अनुभवसहित सदस्य पदमा कमल अर्याल, “व्यवसायीको आवाज परिषद्सम्म पुर्‍याउँछु”

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट कमल अर्याल सदस्य पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ठमेल क्षेत्रमा करिब १५ वर्षदेखि व्यवसायिक तथा पर्यटन क्षेत्रसँग आबद्ध अर्यालले आफ्नो अनुभवलाई परिषद्को संस्थागत विकास र व्यवसायीको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    ठमेलको पर्यटन व्यवसाय, होटल तथा आतिथ्य क्षेत्रका चुनौती र सम्भावनालाई नजिकबाट बुझेका अर्यालले परिषद्लाई अझ सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी संस्था बनाउन आफूले प्रभावकारी भूमिका खेल्ने बताए। व्यवसायीका समस्या समाधान, पर्यटन प्रवर्द्धन, सरसफाइ, सुरक्षा तथा ठमेलको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउन परिषद्ले योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनको धारणा छ।

    सदस्य पदका उम्मेदवार कमल अर्यालले भने, “ठमेलमा १५ वर्ष काम गर्दा व्यवसायीका वास्तविक समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएको छु। अब त्यो अनुभवलाई परिषद्मार्फत व्यवसायीको हित, संस्थागत सुदृढीकरण र पर्यटन प्रवर्द्धनमा उपयोग गर्न चाहन्छु। परिषद् सबै व्यवसायीको साझा संस्था भएकाले हरेक सदस्यको आवाज नेतृत्वसम्म पुर्‍याउने र परिणाममुखी काम गर्ने मेरो प्रतिबद्धता छ।”

    अर्यालले परिषद्मा युवा सोच र अनुभवी कार्यशैलीको समन्वय आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीबीचको एकता, संस्थागत सुशासन तथा पारदर्शितामार्फत परिषद्लाई अझ विश्वासिलो संस्था बनाउने लक्ष्य रहेको बताए। उनले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, सक्षम र व्यवसायप्रति प्रतिबद्ध टोली भएकाले परिषद्लाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

    आगामी २०८३ असार २७ गते हुने निर्वाचनमा सक्षम, इमानदार र व्यवसायीप्रति उत्तरदायी नेतृत्व चयन गर्न सम्पूर्ण सदस्य व्यवसायीसमक्ष आग्रह गर्दै सदस्य पदका उम्मेदवार कमल अर्यालले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न हार्दिक अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar